अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले जिल्लामा देखिएको ग्यास तथा पेट्रोलियम पदार्थको अभाव, कृत्रिम मूल्यवृद्धि तथा जिल्ला अस्पताल अछाम मा देखिएको भनिएको आर्थिक अनियमितताका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ।
पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावतले हस्ताक्षर गरेर सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमार्फत चाडपर्व नजिकिँदै गरेको अवस्थामा अत्यावश्यक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरिएको प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
पत्रमा बजारमा ग्यास, पेट्रोलियम पदार्थ लगायतका वस्तु सहज रूपमा उपलब्ध हुन नसक्नु, आपूर्ति प्रणालीमा देखिएको असन्तुलन तथा कालोबजारीको आशंकाले सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गरिएको छ।
महासंघले जिल्लामा देखिएको यस समस्याको वास्तविक अवस्था तत्काल छानबिन गर्न, कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यक्ति तथा व्यवसायीमाथि कडा कारबाही गर्न, ग्यास तथा पेट्रोलियम पदार्थको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन संयन्त्र सक्रिय बनाउन मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै माग गरेको छ।
त्यसैगरी, जिल्ला अस्पताल अछाम मा देखिएको भनिएको आर्थिक अनियमितता प्रति पनि महासंघले गम्भीर चासो व्यक्त गरेको छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारको अनियमितताले सेवाग्राहीमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा स्वास्थ्य सेवामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आग्रह गरिएको छ।
यसैबीच अछामका प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले उक्त विषयलाई गम्भीर रूपमा लिँदै तत्काल अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।
जिल्लामा मूल्यवृद्धिका नाममा अनियमितता भएको जनगुनासो बढ्दै गएपछि प्रशासनले त्यसको यथार्थ अवस्था बुझ्न छिट्टै बजार निरीक्षण तथा छापा मार्ने तयारी गरेको उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी बुढाले आवश्यक परेमा सम्बन्धित निकायहरू सँग समन्वय गरी संयुक्त अनुगमनलाई तीव्रता दिइने र दोषी पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने स्पष्ट पारेका छन्।
उनले उपभोक्ताको अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने, मूल्य नियन्त्रण गर्ने तथा बजारलाई व्यवस्थित बनाउने दिशामा प्रशासन प्रतिबद्ध रहेको बताएका छन्।
साथै उनले सर्वसाधारणलाई बजारमा देखिएका अनियमितता, कालोबजारी वा कृत्रिम अभाव जस्ता गतिविधि बारे जानकारी भएमा नजिकको प्रशासनिक निकायमा सूचित गर्न आग्रह गरेका छन्।
नागरिकको सहकार्य र सक्रियताले मात्र बजार अनुगमन प्रभावकारी बन्ने उल्लेख गर्दै उनले पारदर्शी र उत्तरदायी बजार प्रणाली निर्माणमा सबै पक्षको भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
स्थानीय स्तरमा पछिल्लो समय ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र मूल्यवृद्धिका कारण सर्वसाधारण मारमा परेका छन्।
दैनिक उपभोग्य वस्तुको अभावले जनजीवन प्रभावित भइरहेका बेला सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन र छिटो हस्तक्षेप हुने अपेक्षा गरिएको छ।
(पहाड खबर बाट )


