साँफेबगर – अछामको खप्तड क्षेत्रमा रैथाने (स्थानीय) बालीहरूको संरक्षण, प्रवर्द्धन तथा उपयोग विस्तार गर्ने उद्देश्यले “पैरवी अभियान” कार्यक्रम सम्पन्न भएको छ । W.H.H. पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालको WE CAN परियोजना अन्तर्गत साँफेबगर नगरपालिका–१२, खप्तडको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी स्थानीय कृषक, जनप्रतिनिधि तथा सरोकारवालाहरूले पछिल्लो समय बजारमा पाइने बिषादीयुक्त खाद्य वस्तुहरूको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गर्दै अबदेखि सकेसम्म स्थानीय रूपमा उत्पादन भएका, बिषादीरहित तथा पोषिलो रैथाने बालीको प्रयोगमा जोड दिने प्रतिबद्धता जनाएका छन्। उनीहरूले परम्परागत रूपमा उत्पादन हुँदै आएका कोदो, फापर, जौ, उवा, कागुनो, स्थानीय धानका जात, गेडागुडी तथा विभिन्न मौलिक तरकारी प्रजातिहरूको संरक्षण र विस्तारमा एकजुट भएर लाग्ने बताएका छन्।
कार्यक्रममा समविकास नेपालकी प्रतिनिधि पूर्णिमा कुँवरले रैथाने बालीहरू पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यिनले खाद्य सुरक्षासँगै आत्मनिर्भरता हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने बताइन्। उनले आधुनिक कृषि प्रणालीका कारण लोपोन्मुख बन्दै गएका स्थानीय बालीहरूको संरक्षण नगरे भविष्यमा खाद्य विविधता संकटमा पर्न सक्ने चेतावनी समेत दिइन्।
त्यस्तै, कार्यक्रमको समापन सत्रमा बोल्दै वडा अध्यक्ष जनक कडायतले रैथाने बालीहरू नेपाली समाजको संस्कृति, परम्परा र चाडपर्वसँग गहिरो रूपमा जोडिएको उल्लेख गरे। उनले यस्ता बालीहरूको संरक्षणले केवल खाद्य सुरक्षामात्र होइन, सांस्कृतिक पहिचान जोगाउने कार्य समेत गर्ने बताए। साथै, रैथाने उत्पादनहरूको प्रशोधन, ब्रान्डिङ र बजारीकरण गर्न सके स्थानीयस्तरमै रोजगारी सिर्जना भई आम्दानी वृद्धि हुने सम्भावना रहेको उनको भनाइ थियो।
वडा अध्यक्ष कडायतले रैथाने बाली संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै वडा बासीहरूलाई समेत यसको संरक्षणमा सक्रिय हुन आह्वान गरे।
वडा सचिव सुर्य बहादुर थापाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कृषक समूहका पदाधिकारी, स्वास्थ्यकर्मी, शिक्षक, समाजसेवी, पत्रकार लगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले रैथाने बाली संरक्षणप्रति स्थानीयस्तरमा चेतना अभिवृद्धि गर्नुका साथै व्यवहारिक कार्यान्वयनतर्फ उन्मुख हुन महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।


