अछाम – साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीस्थित बागभिडी पिपलतोला युवा समूहले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
विभिन्न व्यक्तिहरुबाट संकलित आर्थिक सहयोगबाट आयोजना गरिएको उक्त शिविरमार्फत १ सय ३५ जनाले स्वास्थ्य सेवा लिएको समूहका अध्यक्ष मनिष बुढाले जानकारी दिनुभयो।
शिविरमा बयालपाटा प्रादेशिक अस्पताल र जिल्ला अस्पताल अछामको प्राविधिक सहयोग रहेको थियो भने लाईफलाईन अछामले औषधि सहयोग प्रदान गरेको थियो ।
यसअघि पनि उक्त युवा समूहले सहिद दिवसको अवसर पारेर सरसफाइ अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा १९ वटा डस्टबिन तथा २० वटा राष्ट्रिय झण्डा प्रयोग गरिएको थियो। नुनेपानीदेखि लुंग्रेली गाडसम्मको सडक क्षेत्रमा संकलित फोहोर व्यवस्थापन गरी वातावरण संरक्षणमा योगदान पुर्याइएको समूहले जनाएको छ।
स्थानीय स्तरमा स्वास्थ्य तथा सरसफाइ जस्ता सामाजिक कार्यमा सक्रिय बन्दै आएको युवा समूहको पहलप्रति स्थानीयवासीले प्रशंसा गरेका छन ।


