भदौ १६ आउन अब तीन हप्ता बाँकी छ । १४औँ महाधिवेशनको उद्घाटन गर्ने दिन आउन तीन साता बाँकी रहँदा नेपाली काँग्रेस भने क्रियाशील सदस्यता विवादमै रुमलिएको छ । विवाद सल्टाउन गणित समितिले पार लाउन नसकेको विवाद मिलाउन शीर्ष नेताहरू नै खटिएका छन् । तर, आजको दिनसम्म सुनाउन मिल्ने प्रगति भएको छैन । बुधवार यही विवाद मिलाउन शीर्ष नेताहरूको बैठक बसे पनि कुनै सहमति गर्न सकेन । बरु तीन दिनमै विवाद समाधान गर्ने सहमति गरेर नेताहरू निस्किए ।
सदस्यता विवाद समाधान समितिका सदस्यसमेत रहेको नेता रमेश लेखक केही दिनमै नेताहरू सहमतिमा पुग्ने विश्वास व्यक्त गर्छन् । अहिले मुख्य गरी अन्य दलबाट आएकोहरुको क्रियाशीलका विषयमा विवाद मिल्न बाँकी रहेको बताउँदै केही दिनमै सहमति हुने उनको भनाइ छ । ‘सबै नेताहरूले धारणा राख्नुभएको छ, छलफल सकारात्मक छ, छिट्टै यसबारे निर्णय लिन्छौँ,’ उनले भने । तर, महाधिवेशनको मिति नै सरेको भने अहिले नै भन्न नमिल्ने तर्क गरे । ‘वडा तहको अधिवेशनलगायत स्थानीय तहको कार्यपालिका त प्रभावित भइसकेको छ । महाधिवेशन प्रभावित भइहाल्छ नभिनहालौं । नेताहरूले कोसिस गरिराख्नुभएको छ,’ उनले भने, ‘एक दुई दिनमै महाधिवेशनको स्पष्ट कार्यपालिका आउँछ ।’
लेखकले दुई/तीन दिनमै विवाद मिलिहाल्ने दाबी गरे पनि काँग्रेसभित्र क्रियाशील सदस्यता विवाद थप पेचिलो बन्दै गएको छ । सङ्गठन समायोजनका नाममा संस्थापन पक्षले जथाभाबी सदस्यता वितरण गरेको र त्यस्ता सदस्यता कुनै पनि हालतमा मान्य नहुने अडान संस्थापन इतर पक्षले राखेको छ । संस्थापन इतरका नेताहरूले क्रियाशील सदस्यताको बेथिति डरलाग्दो रहेको बताउँछन् ।
अन्य पार्टीका नेता तथा कार्यकर्ता समायोजनमार्फत पार्टी कब्जा गर्ने नियतबाट सदस्यता वितरण भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । यो बेथिति नसच्याई कन महाधिवेशनको तिथि तोक्न नहुने उनीहरूको अडान छ । विधान र मापदण्ड विपरीत आएका क्रियाशील सदस्यलाई स्वीकार गर्न इतर समूहले स्पष्ट पारिसकेको छ । नेता प्रकाशमान सिंहको निवास चाक्सीवारिमा मङ्गलवार बसेको पौडेल पक्षको बैठकले विधान र मापदण्ड विपरीत आकाश र पातालबाट आएका क्रियाशील सदस्यलाई स्वीकार नगर्ने निर्णय गरेको थियो । मङ्गलवारको बैठकपछि नेता अर्जुननरसिंह केसीले भनेका थिए,‘आकाश र पातालबाट आएका क्रियाशील सदस्यहरूलाई स्विकार्न सकिन्न ।’ पौडेल पक्षले क्रियाशील सदस्यताका सन्दर्भमा विवाद देखिएको ठाउँमा १३औँ महाधिवेशनका प्रतिनिधिलाई कायम गर्न सकिने विकल्प दिएको छ ।
विशेष महाधिवेशन गर्न प्रस्ताव
काँग्रेस महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भइसकेको छ । स्थानीय तहको अधिवेशनसमेत कहिले हुने भन्ने अन्योल छ । यसअघि साउन १२ देखि भदौ २ सम्म प्रदेश, जिल्ला, क्षेत्र, गाउँ नगर र वडा तहको अधिवेशन सम्पन्न गर्ने कार्यपालिका थियो । सदस्यता विवादले नै तिनको अधिवेशन स्थगन भइसकेका छन् । वडा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तहको अधिवेशन नसकिएसम्म केन्द्रीय महाधिवेशनसमेत हुन सक्दैन । अब बाँकी तीन हप्तामा रातदिन नभनी काम गर्दा पनि महाधिवेशन सम्भव छैन । निर्वाचन समितिले महाधिवेशन गर्न कम्तीमा ५० दिनको समय मागेको थियो । छोट्याएर काम गर्दा पनि तीन हप्तामा सम्भव छैन । तर, काँग्रेससँग विकल्प पनि छैन । तोकिएकै समयमा महाधिवेशन नभए काँग्रेसको वैधानिकतामाथि प्रश्न उठ्नेछ । काँग्रेसले सबै संवैधानिक सुविधा प्रयोग गरिरसकेको छ ।
तर, कोरोना महामारीका कारण जारी निषेधाज्ञालाई शून्य समय मानेर केही दिन धकेल्ने लगायतका विषयमा सभापति देउवाले छलफल भने चलाएका छन् । उनले भदौपछिको योजनासमेत बनाइरहेको छन् । पहिलो विकल्प सर्वोच्च अदालतले गरेको शून्य समयको व्याख्यामा टेकेर ४ महिना पर महाधिवेशन सार्ने । दोस्रोमा प्रत्येक पार्टीका प्रादेशिक र केन्द्रीय नेतृत्व ५ वर्षमा निर्वाचित हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था छ । तेस्रो विकल्पमा भदौ २३ अगाडि वडा अधिवेशन सुरु गरेर महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्ने विषयमा देउवाले छलफल थालेका छन् ।
यता संस्थापन इतर समूहले भने विशेष महाधिवेशनको प्रस्ताव गरेको छ । पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव अघि सारेको हो । बुधवार बसेको शीर्ष तहको बैठकमा पौडेल पक्षले १३औँ महाधिवेशनका प्रतिनिधि सहभागी हुने गरी विशेष महाधिवेशनमार्फत दुई वर्षका लागि तदर्थ समितिको निर्वाचन गराउने प्रस्ताव अघि सारेका हुन् । भदौ १६–१९ मा महाधिवेशन गर्न नसके वैधानिकता जोखिममा पर्ने भन्दै पौडेल पक्षले त्यसबाट बचाउन विशेष महाधिवेशनको ‘कार्ड’ अघि सारेको हो ।