नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा अछाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. भीम बहादुर रावलले आफ्ना चुनावी गतिविधिलाई तीव्र बनाउँदै घरदैलो अभियान औपचारिक रूपमा सुरु गर्नुभएको छ ।
रामारोशन, मेल्लेख र साँफेबगरमा अगुवा कार्यकर्ता भेटघाट पछि आजबाट साँफेबगर नगरपालिका वडा नं.१३ वाव्लावाट घरदैलो अभियान सुरुवात गर्नुभएको छ । अभियानको पहिलो दिनदेखि बाब्लाका विभिन्न टोल बस्तीमा पुगेर प्रत्यक्ष रूपमा जनतासँग भेटघाट गर्दै मतदाताका गुनासा, अपेक्षा र सुझाव संकलन गर्नुभएको छ ।
घरदैलो अभियानका क्रममा डा. रावलले विगतमा आफूले निर्वाह गरेको संसदीय भूमिकाको समीक्षा गर्दै आगामी दिनमा जिल्लाको समग्र विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र राष्ट्रिय स्वाधीनताका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्थानीय बासिन्दासँगको भेटमा डा. रावलले अछामको भौगोलिक कठिनाइलाई मध्यनजर गर्दै सडक, खानेपानी, सिंचाइ, स्वास्थ्य संस्था सुदृढीकरण तथा शिक्षाको गुणस्तर सुधारमा विशेष ध्यान दिने बताउनुभयो । साथै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न कृषि, पर्यटन र साना उद्योग प्रवद्र्धन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका समानुपातिक उम्मेदवार निर्मला साउदले आफू निर्वाचित भएमा सामाजिक न्याय, महिला सशक्तीकरण र समावेशीताको मुद्धालाई संसदमा सशक्त उठाउने बताउनुभयो । उहाँले जनताको हक–अधिकारका लागि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समानुपातिक उम्मेदवार केशर मियाले अल्पसंख्यक तथा पछाडि परेका समुदायको आवाज सशक्त रूपमा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । घरदैलो अभियानमा पूर्व मन्त्री शेरबहादुर कुँवर, केन्द्रिय कमिटी सदस्य कुलबहादुर कुँवर, हर्क बहादुर कुँवर गोविन्द, दुधकला विष्ट सागर सिंह बाव्ली, जयन्ति वोगटी लगायतको सहभागिता रहेको थियो । डा.भीम रावल सहित नेताहरु आज खप्तडमा वास वस्ने कार्यक्रम रहेको छ ।


