वैद्यनाथ धाम अछाममा आयोजित माघे संक्रान्ति मेला सम्पन्न


पैरवी खबर

तपेन्द्र कुँवर
अछाम । साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथस्थित वैद्यनाथ धाममा माघे संक्रान्तिको अवसरमा आयोजित माघे संक्रान्ति मेला सम्पन्न भएको छ । वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष गोकुल भाटको अध्यक्षतमा भएको मेलामा सूदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथि रहनु भएको थियो ।मन्त्री खड्काले वैद्यनाथ धाम देशकै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान बोकेको महत्वपूर्ण तीर्थस्थल भएको बताउनुभयो । यस्ता धार्मिक स्थलको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकास मार्फत पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाई रहेको छ । मन्त्री खड्काले माघे संक्रान्ति जस्ता पर्वले धार्मिक पर्यटनलाई थप उचाइमा पुर्याउने धारणा व्यक्त गर्नुभयो ।जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले वैद्यनाथ धामको व्यवस्थित विकासले जिल्लामा पर्यटन प्रवर्द्धन , रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ हुने बताउनुभयो । यसको विकासको लागि स्थानीय, प्रदेश र संघ सरकार जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो । वैद्यनाथ धाम जस्ता तीर्थ स्थलहरूलाई पर्यटनसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले धार्मिक, सांस्कृतिक र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्नु पर्नेमा जोड दिनुभयो । यस्तै उहाँले सेति लोकमार्ग बनेमा पर्यटकहरुको आगामन वढ्ने धारणा व्यक्त गर्नुभयो ।चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउदले स्थानीय तह, प्रदेश र संघ सरकारको सहकार्यबाट वैद्यनाथ क्षेत्रको धार्मिक पर्यटन विकास सम्भव भएको बताउनुभयो ।

वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष गोकुल भाटले वैद्यनाथ धामको धार्मिक महत्वसँगै पर्यटन सम्भावनालाई उजागर गर्न समिति निरन्तर क्रियाशील रहेको बताउनुभयो ।

माघे संक्रान्ति मेलालाई साँफेबगर नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोज, अछामका प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर वुढा , भूमी समस्या समाधान आयोगका अध्यक्ष रामबहादुर आउजी, वैद्यनाथ वेद विद्याश्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मि शाहले सम्वोध गर्नुभएको थियो ।

माघे संक्रान्ति पर्वमा चौरपाटी गाउँपालिका वडा नं.१ सिउडीको पुतला, वडा नं.७ मार्कुको भूँवो, साँफेबगर नगरपालिका वडा नं.१ वैजनाथको होरी, वडा नं.२ जाल्पादेवि हुडेकेली , वडा नं.४ मष्टमान्डौं र वडा नं.५ नवाठानाका न्याउले खेल, किण्डर गार्डन एकेडेमीको स्वागत नृत्य प्रस्तुति रहेको थियो ।

वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष टेक बहादुर खड्काले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य सचिव देवराज उपाध्यायले गर्नुभएको थियो ।