गाउँपालिका अध्यक्ष बिसी द्धारा १२ जना विद्यार्थीलाई आर्थिक सहयोग


पैरवी खबर

अछाम । अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले आफ्नो सेवा सुविधाबाट विद्यार्थीलाई नगद प्रदान गर्नुभएको छ । पालिकाको वडा न ३ भैरबस्थानमा रहेको बसुन्धरा माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्तीको अवसरमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिसीले विद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका जेहेन्दार तथा उत्कृष्ट १२ जना विद्यार्थीहरूलाई नगद सहयोगसहित प्रमाणपत्र प्रदान गरिएको थियो । अध्यक्ष बिसीले आफू निर्वाचित भएपछि प्राप्त हुने मासिक सेवा–सुविधाबाट एक महिनाको रकम बराबर जनही २ हजार ५ सय रुपैयाँका दरले कुल ३० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराउनु भएको हो ।
राजनीतिक भाषण र औपचारिक प्रतिबद्धताभन्दा बाहिर निस्केर शिक्षा क्षेत्रमा प्रत्यक्ष सहयोग गरिएको यस कदमले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जगाएको विद्यालय स्रोतले जनाएको छ । स्वर्ण जयन्तीको अवसरमा गरिएको यो सहयोगलाई स्थानीय समुदायले शिक्षाप्रति जिम्मेवार नेतृत्वको स्पष्ट उदाहरणका रूपमा लिएका छन् ।
पालिकामा गाउँपालिका अध्यक्ष बिसीको यो पहलले विद्यालय शिक्षाको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । अध्यक्ष बिसीले गाउँपालिकाको कुल बजेटको आधा बजेट शिक्षा क्षेत्रमा मात्रै बिनियोजन गर्नुभएको छ । निर्वाचित भएदेखी नै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिनुभएका बिसीले पालिकामा शिक्षा क्षेत्रमा राम्रो अभ्यास समेत गर्नुभएको छ ।