अछाम – अछामको कमलबजार नगरपालिका वडा न ५ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष सत्यराज तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा गत आर्थिक वर्ष २०८१÷०८२ सार्वजनिक सुनुवाइ गरिएको थियो भने चालु आर्थिक वर्ष २०८२÷०८३ को प्रथम चौमासिक समीक्षा गरिएको थियो । कार्यक्रममा सहभागि स्थानीय नागरिकहरुले वडा समितिले हरेक वर्ष आयोजना गर्ने सार्वजनिक सुनुवाइ कार्यक्रमले सुशासन र पारदर्शिताको क्षेत्रमा राम्रो अभ्यासको थालनी गरेको बताएका थिए ।

यसरी सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेर नागरिकहरुलाई सुसुचित गर्ने काम गरेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव समेत दिएका छन । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि स्थानीय नागरिकहरुले वडा अध्यक्ष तिमल्सिनाको सकृयता लोभलाग्दो रहेको भन्दै वडा समितिले वडाको स्रोत साधनले भ्याए सम्म राम्रो काम गरेको भन्दै प्रशंसा समेत गरेका छन । वडा संग धेरै स्रोत साधन नहुने तर अन्य निकाय संग समन्वय र सहकार्य गर्दै नागरिकका समस्याहरु समाधान गर्दै गएको भन्दै प्रशंसा गरेका हुन ।
वडा कार्यालयको प्रांगणमा भएको कार्यक्रममा बोल्ने अधिकांश स्थानीयले स्थानीय उपभोक्ता समिती बाट ठगीएको गुनासो गरेका थिए । वडामा प्रदेश र स्थानीय सरकार बाट केही योजनाहरुको निर्माण कार्य सम्पन्न भएका तर त्यी योजनामा कामगर्ने अधिकांश स्थानीयले मजदुरी गरे वापतको ज्याला नपाएको गुनासो गरेका हुन । खानेपानी योजना, घेरापर्खाल निर्माण र मन्दिर निर्माणको क्रममा काम गरेको तर उपभोक्ता समितिका पदाधिकारीले आफुहरुले काम गरेको पैसा नदिदा आफुहरु मर्कामा परेको अधिकांश महिलाहरुको गुनासो थियो । आफुहरुले काम गरेका योजना बाट भुक्तानी नपाएको भन्दै उनीहरुले स्थानीय सरकारले त्यसका लागि पहल गरिदिन माग समेत गरेका छन ।
उक्त कार्यक्रममा सहभागी अन्य स्थानीय नागरिकहरुले वडा सचिव वडा कार्यालयमा नियमित नहुदा सेवाग्राहीले दुख पाएको, वडाको नादी टोलमा सडक संजाल नजोडीएको, वनमा भईरको चोरी निकासी नरोकीएको, विकास निर्माणका योजनाको प्रभावकारी ढंगले अनुगमन गर्नुपर्ने, उपभोक्ता समिति गठन गर्दा नागरिकहरुको सुझाव संकलन गर्नुपर्ने लगायतका सुुझावहरु समेत दिएका छन ।
कार्यक्रममा सुझाव मन्तव्य राख्दै राष्ट्रिय स्वातन्त्र पार्टीका युवा नेता ईन्जिनियर जिबन तिमल्सिनाले गाउँठाउमा हुने सानातिना समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो । सेवा दिने र लिने विच तालमेल नमिल्दा कतिपय योजनाहरुमा बदमासी भएकाले आगामी दिनमा अहिले देखिएका कमजोरीहरु दोहोरिन नहुने सुझाव दिनुभएको छ । महिलाहरुले काम गरेको ज्याला नपाउनु भनेको राम्रो पक्ष नभएको हुदा यस तर्फ स्थानीय सरकार गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । वडा समितिले आफ्नो स्रोतले भ्याए सम्म सन्तोसजनक काम गरेको भन्दै नेता तिमल्सिनाले आगामी दिनमा नागरिकको मन जित्ने गरि काम गर्न आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै कमलबजार नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले कार्यक्रममा नागरिकहरुले उठाएका सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै यी समस्या समाधानका लागि पालिकामा छलफल गरि अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
वडा अध्यक्ष सत्यराज तिमल्सिनाले आफु निर्वाचित भए देखी वडाका नागरिकहरुले भोगीरहेका समस्याहरु समाधान गर्नका लागि रात दिन नभनी लागीपरेको बताउनुभयो । नागरिकका समस्या र चाहाना धेरै हुने तर वडामा सिमित स्रोत साधन मात्रै हुने भएकाले यसका बाबजुदपनी आफुले जनताको मन जित्नेगरि काम गरेको दाबी गर्नुभएको छ । आफु निस्वार्थ रुपमा समुदायको पक्षमा काम गरिरहने भन्दै अध्यक्ष तिमल्सिनाले आफ्ना राम्रा काममा साथ दिन र गलत कार्यको आलोचना गर्न आग्रह समेत गर्नुभएको छ । नागरिकले प्रश्न गर्ने मात्र होइन एक जिम्मेवार नागरिकको भूमिका समेत निर्वाह गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा नगर उप प्रमुख सारदा बिष्ट कुवँरले आफुले चुनावको बेला जनाएका प्रतिबद्धता अनुसार काम गर्न नसकेको स्विकार्नु भएको छ । उप प्रमुख बिष्टले यसो भन्दै गर्दा केही नगरेको भन्ने पनि होइन तर कतिपय कुराहरु कानुनी जटीलता, बजेटको अभाव लगायतका कारयणले नागरिकले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको बताउनुभयो । आगामी दिनमा बाकी रहेका र जनता माझ गरेका प्रतिबद्धताहरु कार्यन्वयन गर्नका लागि प्रतिबद्ध रहेको उहाको भनाई थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सदस्य दुर्गा प्रसाद तिमिलसैना, रतन भुल, नेपाली काग्रेसका रंग कामी, नेकपा एमालेका रतन प्रसाद जैसी, नेपाली कम्युनिष्ट पार्टीका चन्द्रकान्त बजगाइ लगायत वडाका सरोकारवालाको सहभागिता रहेको थियो ।


