अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली गरिएको छ। सोमबार विश्व एड्स दिवस २०८२ को अवसरमा घुघुरकोटको कोटवाडा टोलमा र्याली पछि सन्देश मुलक देउडा खेल पनि खेलिएको थियो। ३८ औं विश्व एड्स दिवस अवरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ भन्ने नाराका साथ मनाईएको हो । यो दिवस हरेक वर्ष डिसेम्बर १ मा मनाईने गरिन्छ । यस वर्षको नाराले हालका चुनौतीहरुको बीचमा पनि एचआईभी/एड्स विरुद्धको प्रतिबद्धता अझ बलियो रहनु पर्ने सन्देश दिन्छ। एचआईभी निर्मुल गर्ने अभियानमा आएका अवरोधहरूलाई अवसरमा बदल्दै, समुदाय-केन्द्रित प्रयास, समान पहुँच, मानवअधिकार र नवीन समाधान मार्फत एड्स-मुक्त भविष्य तर्फ अघि बढ्न सबैलाई एक साथ हातेमालो गर्न यो वर्षको नाराले आह्वान गरेको छ ।
सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको छ । सरकारी तथ्यांक अनुसार कुल संक्रमित मध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् । त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरुमा एचआईभी संक्रमण छ ।
त्यस्तै १५ वर्ष भन्दा माथिका एचआईभी संक्रमित पुरुषहरुको संख्या १९ हजार २ सय ७९ रहेको र एक हजार ५८ जना एचआईभी पोजेटिभ बालबालिकाहरु रहेका छन् । अझै पनि दिनमा २ जना नयाँ संक्रमित थपि रहेका छन् भने दिनमा एक जनाको एचआईभीका कारण मृत्यु भई रहेको सरकारी आँकडा रहेको छ ।
नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य सरकारको रहेको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमण बारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाईरल लोड कम गराउने सरकारी लक्ष्य रहेको छ ।
घुघुरकोटमा भएको र्याली पछि कोड सभा पनि गरिएको थियो। खापरमाण्डौ आत्मानिर्भर समुहका अध्यक्ष आशा बिकको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष ललित बोगटी रहनु भएको थियो। यस्तै कार्यक्रममा घुघुरकोट स्वास्थ्य चौकी इन्चार्ज बम प्रसाद भट्ट, एमपीडिएसका प्रकाश बहादुर महता, सम विकास नेपालका पुन्ना कुँवर, शर्मिला बोगटी लगायतको उपस्थिति रहेको थियो।


