बयालपाटा अस्पतालका बारेमा अस्पताल प्रमुख पाठकसंग छलफल


पैरवी खबर

साँफेबगर – बयालपाटा अस्पतालका बारेमा अस्पताल प्रमुख मन्दिप पाठक संग छलफल भएको छ।

यही चैत्र ५ गते न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल अछामबाट दिइरहेको सेवा प्रवाह जुनसुकै बेला पनि बन्द हुनसक्ने भनी सुचना प्रकाशित भएको विषयमा चिन्ता व्यक्त गर्दै साँफेबगर नगरपालिकाका कार्यपालिका सदस्यहरु सहित केहि युवाहरुले अस्पतालका प्रमुख मन्दिप पाठक संग भेटघाट गरेका हुन । भेटघाटका क्रममा अस्पतालको विगत , बर्तमान र आगामी दिनमा अस्पतालको अवस्था कस्तो रहने , यहाँका अगुवाले कस्तो भुमिका खेल्नुपर्ने भन्ने विविध सन्दर्भमा छलफल गरिएको थियो ।
भेटघाटमा गएका कार्यपालिका सदस्य सहितका युवाहरुले आ-आफ्नो ठाउँबाट हुने सहयोग गर्ने र सहयोगका लागि सम्बन्धित निकायलाई घचघच्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

भेटघाटमा हाल बयालपाटा अस्पतालबाट प्रवाहित सेवाहरुको उपयुक्त व्यवस्थापनका लागि अस्पतालले आर्थिक संकटको सामना गरिरहनु परेको पाठक प्रमुखले बताए । यस्तो प्रतिकुल परिस्थितिमा आफुहरुले अस्पतालमा रिक्त रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पदपूर्ति गर्न सकिरहेको पनि उहाँले बताउनु भयो ।आर्थिक अभावका कारण बिरामीहरुलाई आवश्यक पर्ने औषधी, ल्याब तथा अन्य स्वास्थ्य सामाग्रीहरुको खरीद, भण्डारण तथा आपुर्ति गर्न समेत कठिनाई भईरहेको अवस्था छ । यसका साथै सेवाग्राहीहरुलाई समय भित्र स्वास्थ्य चेकजाँच गर्न तथा आवश्यकता अनुसार सबै औषधी उपलब्ध गराउन समस्या सृजना हुदै आईरहेको कुरा पनि उहाँले बताउनु भएको छ ।

अस्पताल संचालनका लागि स्थानीय पालिका भएका कारण विशेष गरि साँफेबगर नगरपालिकाले पनि आर्थिक रुपमा सहयोग गर्नुपर्ने पाठक बताउनु हुन्छ ।
जिल्लाका अन्य पालिकाबाट पनि अस्पताललाई सहयोग भइरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउँदै पाठकले जिल्ला स्थित सम्पुर्ण राजनीतिक दलका नेताहरु र सुदूरपश्चिम प्रदेश सरकारलाई सहयोग गरिदिन हुन आग्रह गर्नुभएको छ ।
उहाँले भन्नु भयो “म अहिले कतै जादिन , यहाँका जनताको अझै सेवा गर्ने मन छ ” तर यहाँका अगुवाले अस्पताललाई सहयोग गर्नु पर्छ ।