‘दिलबहादु रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ आमा सरिमायालाई, जनयुद्धको अपमान नर्गन चेतावनी


पैरवी खबर

काठमाडौं । ‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलका आमा किर्कौली रम्तेल (सरिमाया)लाई लाई प्रदान गरिएको छ । दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालको आयोजनामा बुधबार काठमाडौंको संवाद डबलीमा पुरस्कार तथा सम्मान कार्यक्रमकाविच नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले ५० हजार नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।

पुरस्कार प्रदान गर्न आयोजित समारोहमा सहभागि वक्ताले जनयुद्ध र सहिदको अपमान नगर्न चेतावनी दिएका छन् । माओवादी सचिव पौडेलले रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट आएको परिवर्तनको मुलआधार जनयुद्धको विद्रुपीकरण हुनु दर्भाग्य भएको बताए । जनयुद्धकालमै रम्तेल लगायतका सहिदको स्मृतिमा फागुन १४ देखि २१ सम्म साताव्यापी सहिद सप्ताह अभियानको सुरुवात गरेको र आज पनि त्यसैको निरन्तरता स्वरुप देशभर अभियान चलिरहेको बताए ।

पौडेलले एमाले–काँग्रेसले पूर्वाग्रही ढंगबाट त्यसको अपमान गरे पनि जनयुद्धकै सहयात्री रामबहादुर थापा ‘बादल’ले न्यूनतम नैतिक धरातलबाट तल गिरेर जनयुद्धबारे गलत दृष्टिकोण बनाउनु स्वभाविक नभएको बताए । उनले प्रश्न गर्दै भने, ‘न्याय, मुक्ति, स्वतन्त्रता र देश भक्तिपूर्ण उदात्तभावले लडिएको जनयुद्धकै कमाण्डरको मतिभ्रष्ट भएकै हो ?’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम अखिल (क्रान्तिकारी)का सह–इन्चार्ज पञ्चा सिंहले दिलबहादुर रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसिन प्रधानमन्त्रीले समेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले जनयुद्धको विद्रुपीकरण नगर्न चेतावनी दिदै भनिन्, ‘संघर्ष नगरी फल खाइरहेका केपी ओलीले विरोध गरे पनि जनयुद्धमा बलिदान गर्न सिकाउने बादल कमरेडलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो ?’

केपी ओलीको चाकडी गर्नकै लागि तल गिर्नु गलत भएको धारणा राख्दै सिंहले भनिन्, ‘रामबहादुरहरुका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबरदार अति भयो, अब सहन सकिन्न ।’

पार्टीका केन्द्रीय सदस्य समेत रहेका संविधान सभा सदस्य विनोद पहाडीले दिलबहादुर रम्तेल प्रतिष्ठानको स्थापना गरेर सहिद रम्तेललाई सम्मान गरेकोमा प्रतिष्ठानका अध्यक्ष डा.बुद्धी नेपाली सहित कार्यसमितिलाई धन्यबाद दिए । उनले पहाडीले प्रतिष्ठानलाई खुल्ला विश्वविद्यालयमा विकसित गराउन पार्टी र राज्य पक्षले विशेष ध्यान दिनुपर्ने बताए ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डा.बुद्धी नेपालीले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्मान र सम्झनाको लागि आफूहरुले स्मृति प्रतिष्ठानको स्थापना गरेको बताए । नेपालीले स्थापनाको पहिलो वर्ष रम्तेलको नाममा २५ लाख छात्रवृत्ती अक्षय कोष स्थापना घोषणा गरी कोष संकलनको कार्ययोजना तिब्र गतिमा अघि बढाइएको बताए । उनले भने, ‘जनयुद्ध र जनाआन्दोलनका क्रममा १३ हजार ३३६ जनाले सहादत प्राप्त गर्नु भएकोमा दलित समुदायबाट १६ सय ८७ जनाले बलिदान गर्नुभएकोमा जुन प्रतिशतमा हेर्दा १२.६ प्रतिशत हुँन आउँछ, यत्रो बलिदान हुँदा पनि उत्पीडित समुदाय र लिङ्गले अझै पनि पूर्ण अधिकार नपाउनु दुःखद विषय हो ।’

प्रतिष्ठानका महासचिव पम्फा बसेलले प्रतिष्ठान स्थापनाको दोस्रो वर्षगाँठको अवसरमा आफूहरुले पुरस्कार स्थापना गरि हस्तान्तरण समेत गरेको बताउँदै यसलाई थप प्रभावकारी बनाउँदै लैजाने बताईन । कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष मदन भूल, पूर्व उपमहासचिव बाबुराम नेपाली, पूर्व सचिव श्याम रोक्का, नेपाल दलित मुक्ति मोर्चाका कोषाध्यक्ष सानुभाई मालबुल, सहिद रिना अर्पण उत्थान मञ्चका अध्यक्ष गिता रसाईलीले गौरवशाली इतिहास बोकेको जनयुद्धको रक्षा गर्न दिलबहादुर जस्तैः हजारौं सहिदको सम्मान गर्नुपर्ने धारणा राखे ।