साँफेबगर २५ चैत्र।
बसको ठक्करबाट घाईते भएका साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्देश्वरका २६ वर्षिय हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौंमा मृत्यु भएको छ। कुँवरको मृत्यु भए पछि आफन्त आन्दोलित भएका छन्। उनीहरुले साँफेबगरमा टायर बालेर सडक बन्द गरेका छन्। चैत्र १९ गते सुप्रप ०१–००१ख३१५४ नम्बरको बसले हेमराज सवार सुप्रप ०१–००९प६५८४ नम्बरको मोटरसाईकललाई साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै ठक्कर दिएको थियो। घाईते भएका गाडी चालकलाई कार्वाही र मृतकका श्रीमती र दुई छोरीको लालनपालनको जिम्मा लिनु पर्ने मृतकका काका शैलेन्द्र कुँवरले जानकारी दिनु भएको छ। गाडी चालक र गाडी धनी अहिलेसम्म सम्पर्कमा समेत आएका छैनन्। पिडित पक्षका मागहरु पुरा नभए थप सशक्त आन्दोलन गर्न वाध्य हुने उहाँको भनाई रहेको छ। यस्तै उपचारका क्रममा नेपालगंजका डा. विनोद थापाले लाफरवाही गरेको समेत आरोप लगाएका छन्। उनीहरुले डा. थापा र बस मालिकको मिलोमतोमा हेमराजको ज्यान गएको मृतकका आफन्ते बताएका छन्। पिडित पक्षले सुदूरपश्चिम बस व्यवसायी समितिका काउण्टरमा समेत तोडफोड गरेका छन्। बयलपाटा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज रेफर गरिएको थियो। नेपालगंजमा अप्रेशन सफल भए पनि हेमराजको होस नआउँदा थप उपचारको लागि हेलिकप्टर मार्फत कांठमाण्डौ लगिएको थियो। काठमाण्डौंमा उपचारका क्रममा हिजो (शुक्रबार) ज्यान गएको हो।