कार्य सम्पादनमा अछाममा उत्कृष्ट भएको चौरपाटी प्रदेशमा दोस्रो स्थानमा


पैरवी खबर

तपेन्द्र कुँवर
कार्यसम्पादन मूल्यांकनका आधारमा चौरपाटी गाउँपालिका जिल्लामै उत्कृष्ट तथा सुदुरपश्चिम प्रदेशमा दोस्रो भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनमा अछामका सबै स्थानीय तहलाई उछिन्दै चौरपाटी गाउँपालिका अब्बल स्थान हाँसिल गर्न सफल भएको छ । तुर्माखाँद गाउँपालिका भने ५०.५१ प्रतिशत अंक प्राप्त गर्दै दशौं स्थानमा आएको छ । सुदूरपश्चिम प्रदेशमा भने डडेल्धुराको गन्यापधुरा गाउँपालिका पछि दोस्रो स्थान हासिल गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिनुभएको छ । सय अंक भारमा चौरपाटी गाउँपालिकाले ७३.२५ प्रतिशत अंक प्राप्त गर्दै अछाम जिल्लाको पहिलो र सुदूरपश्चिम प्रदेशको २ औँ तथा देशकै २८ औँ स्थानमा पर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाई रहेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७८÷०७९ को ७५३ वटै स्थानिय तहको कार्यसम्पादन मुल्यांकन सार्वजनिक गरेको छ ।
मंगलसैन नगरपालिका ६९.२६ प्रतिशत ल्याउदै दोस्रो भएको छ । गत आर्थिक वर्ष मंगलसैन नगरपालिका प्रथम भएको थियो । यस्तै ढकारी गाउँपालिका ६४.०९ प्रतिशत ल्याउदै तेस्रो भएको छ । कमलवजार नगरपालिकाले ६१.५१ प्रतिशत, मेल्लेख गाउँपालिकाले ५६.५९ प्रतिशत, वान्नीगढी जयगढ गाउँपालिकाले ५६.०९ प्रतिशत, साँफेबगर नगरपालिकाले ५३.६५ प्रतिशत, पन्चदेवल विनायक नगरपालिकले ५२.४९ प्रतिशत, रामारोशन गाउँपालिकाले ५२.४० प्रतिशत अंक प्राप्त गरेको छ ।
चौरपाटी गाउँपालिकालाई यो स्थानसम्म पु¥याउन सहयोग गर्ने सबैलाई प्रमुख प्रशासकीय अधिकृत थापाले धन्यबाद समेत दिएको छ । १७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको थियो । समयमै बजेट पेश गरे नगरेको, असार मसान्त भित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको, आगामी आवको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेस गरे नगरेको विषयमा मूल्यांकन गरेको थियो ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाई रहेको छ।
कार्यकालको सुरुवातमै देशको मान्यत प्राप्त राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा चौरपाटी गाउँपालिका प्रदेशमा दोस्रो र अछाम उत्कृष्ट बन्नु सुखद भएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले रेडियो जनप्रिय एफएमलाई जानकारी दिनुभयो । यो अभियान र सहयोग पुर्याउने कार्यपालिकाकाका पदाधिकारी वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र सबै कर्मचारीहरुको सहयोगका कारण सफलता प्राप्त भएको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।
गाउँपालिकाको आवश्यक्ता, संभावना, चुनौती र अवसरको पहिचान गरि सोही अनुरुप सचेततापूर्वक काम गरेकाले यो नतिजा पाउन सफल भएको गाउँपालिका अध्यक्ष साउदको भनाई छ । उहाँले आगामी दिनमा पनि गाउँपालिकाको समर्ग विकासमा कुनै कसर बाँकी नराखी अब्बल गाउँपालिका बनाउन प्रयास गर्ने बताउनुभयो । यहि मूल्यांकनका आधारमा आयोगले आगामी आर्थिक वर्षका लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्नेछ ।