नेपाल मानवअधिकार वर्ष पुस्तक -२०२३ को प्रकाशन पूर्वसमीक्षा कार्यक्रम मंगलसेनमा सम्पन्न


पैरवी खबर

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्वसमीक्षा कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सन् २०२२ को एक वर्षको अवधिमा घटेका घटनाहरुको बारेमा छलफल गरिएको छ ।
एक वर्षको अवधिमा अछाममा घटेका वैवाहिक बलात्कार, बलात्का र बलात्कारका प्रयास, हत्या, आत्महत्या दुरुत्साहन, कुटपिट, बहुविवाह र घरेलु हिंसाका घटना इन्सेक जिल्ला प्रतिनिधि शिवराज ढुंगानाले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत गरिएका घटनामा वैवाहिक बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । यस्तै सबै भन्दा बढी घरेलु हिंसाका घटना प्रहरीमा पुगेको तथ्यांक रहेको छ ।
समीक्षा कार्यक्रमका सहभागी स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले गरिबी, बेरोजगारी, तनाव र मदिरा सेवनका कारण घटना भइरहेको भनाइ राख्नुभयो ! रोजगारमुलक भएर गरिबीको अन्त्य, मदिरा र तनावको व्यवस्थापन गर्न सके जिल्लामा हुने घटना नियन्त्रणमा आउने जनप्रतिनिधिहरूको भनाइ छ ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले इन्सेकले प्रकाशन गर्ने घटनाहरुले जिल्लाको मानव अधिकारको अवस्था देखाउने भन्दै यसलाई न्यूनिकरणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने भनाइ राख्नुभयो । एकै स्थानमा रहेका व्यक्तिहरुको आर्थिक अवस्थामा ठूलो फराकिलो भएकोले विभिन्न घटना घट्न सक्ने भनाइ कुँवरको छ । मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि हरेक व्यक्तिमा अधिकार र कर्तव्यको पाठ सिकाउनुपर्ने भनाइ राख्नुभयो ।

समीक्षा कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, उपप्रमुख शिवबहादुर कुँवर, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बीसी र उपाध्यक्ष बिमला शाहीले सुझाव मन्तव्य राख्नुभयो !
प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेले जिल्लामा आत्महत्याका घटनामा वृद्धि भइरहेको भन्दै यसको न्यूनिकरणमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, सरकारी, गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तिहरू, पत्रकार लगायतको सहभागीता रहेको थियो !