ऋषिदहमा गै.स.स. सहयाेग इकाई स्थापना


पैरवी खबर

 

मेल्लेख गा.पा. वडा न. २ ऋषिदहमा हाल कार्यक्रम संचालन गरिरहेका संस्थाहरुका लागि २ न. वडा कार्यालय द्वारा गै.स.स. सहयाेग इकाई स्थापना तथा हस्तान्तरण कार्यक्रम गरिएको छ ।

वाक नेपालकाे विशेष पहलमा अछामकाे एउटा दुर्गम ठाउँको वडा सरकारले प्रत्येक संस्थाका अलग – अलग टेबुल तथा सुझाव पेटिका सहित वाईफाई, फाेटाेकपी तथा प्रिन्ट मेशिन राखेर पक्की भवनमा गै.स.स. सहयाेग इकाई स्थापना गरेकाेमा अछाम जिल्ला मै विल्कुलै नविनतम् र प्रसंशनीय कार्य गरेकाे भन्दै गै.स.स. प्रतिनिधिहरुले खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा सम्पुर्ण गैर सरकारी संस्थाहरुकाे तर्फबाट बाेल्दै वाक नेपालका भुपेन्द्र भण्डारीले “हामी संस्थाहरूलाई वडा कार्यालय कै छाना मुनि राखेर अभिभावकत्व दिनु भएकाे छ, गै.स.स. सहयाेग इकाई कार्यालय मात्रै नभई हामी संस्थाहरुका लागि वडा कार्यालयले दिएकाे माया हाे, सम्मान हाे र बासस्थान हाे” भन्ने कुरा राख्नु भएकाे थियाे ।

त्यस्तै वडा अध्यक्ष कुशलराज बुढाले गै.स.स. प्रतिनिधिलाई लाई स्वागत गर्दै अब संस्था बाट दिईने सेवा सुविधा समुदायमा कसैलाई काखा पाखा नगरी पाउनै पर्नेले पाउने र संस्था तथा वडाले आर्थिक तथा सामाजिक हिसाबमा पनि हातेमालाे गरेर अघि बढ्नु पर्ने तथा याे गै.स.स. सहयाेग इकाईले वडा कार्यालय, गै.स.स. र वडाबासीहरुलाई जाेड्ने पुलकाे काम गर्ने भएकाेले आफ्नाे तर्फ बाट हुने सहयाेगमा कुनै पनि कञ्जुस्याईँ नहुने भन्दै याे सहकार्यका लागि सबै संस्थाहरूलाई धन्यवाद समेत दिनु भएकाे छ ।

वडा अध्यक्ष द्वारा गै.स.स. सहयाेग इकाईकाे बाेर्ड उच्चारण गरेर तथा वाक नेपाल, आस्था नेपाल र सेवक नेपालका प्रतिनिधिलाई कार्यालयकाे साँचाे हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरिएकाे थियाे ।

मेल्लेख गा.पा. वडा न. २ का वडा अध्यक्ष कुशलराज बुढाकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा वाक नेपाल, आस्था नेपाल र सेवक नेपालका प्रतिनिधिहरु लगायतकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रमकाे संचालन वडा सहायक धन ब. बुढाले गर्नु भएकाे थियाे।