साफेबगर: साँफेबगर नगरपालिकाको सडक पुग्न बाकी रहेको एउटा टोलमा पनि सडक पुग्ने भएको छ । साँफेबगर नगरपालिका वडा १२ खप्तडको भेरासैनमा सडक पुग्न सकेको थिएन ।
तुकादेखि भेरासैनसम्म जोड्ने सडकको आज साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले शिलान्यास गर्नुभएको छ । नगर प्रमुख कुँवरले सेति लोक मार्गले भैरासैनसम्म सडक जोड्ने योजना रहेका कारण यस अघि उक्त टोलमा सडक नपुगेको जानकारी बताउनु भएको छ ।
सेति लोकमार्गले उक्त टोलमा सडक जोड्न ढिलाई गरेका कारण नगरपालिकाले आफै सडकको ट्रयाक खोल्ने कामको सुरुवात गरेको बताउनुभयो । नगर प्रमुख कुँवरले नगरका पिछडिएका वडाहरुलाई विकासका दृष्टिले अघि बढाउनको लागि नगरपालिकाले पहल गर्दै आएको छ ।
केन्द्रबाट आउने वजेट र कार्यक्रमका कार्यविधि नगर केन्द्रित हुँदा सोचेअनुसार प्रगति भने हुन नसकेको पनि उहाँकि भनाइ रहेको छ ।
यस्तै उहाँले एकिकृत वस्ति विकास कार्यक्रम मार्फत आर्थिक अवस्था कमजोर भएका समुदायको लागि भेरासैनमा २५ वटा घर निर्माण गर्ने योजना समेत रहेको बताउनुभयो ।
यस्तै साँफेबगर नगरपालिका वडा १२ खप्तडका अध्यक्ष प्रकाश रानाले भेरासैन सडक सन्जालमा नजोडिएका कारण यहाँका जनताले धेरै दुःख पाएको बताउनुभयो । उहाँले गर्भवति महिलालाई बच्चा पाउनको लागि स्वास्थ्य संस्थाका वोकेर ल्याउनुपर्ने वाध्यता रहेको पनि बताउनुभयो । सडक सञ्जालसँग जोडिएपछि अव सहज हुने उहाँको भनाई रहेको छ । सडक शिलान्यास कार्यक्रममा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य नेत्र कुँवर, वमबहादुर रावल, नगरपालिकाका इन्जिनियर निराजन शाह, तुका माविका प्रअ हस्त ब. कडायत, खप्तड निकुञ्जका प्रतिनिधि शिरिष चौधरी लगायतको सहभागिता रहेको थियो ।