तुलसीपुर,
२८ पुस/ तुलसीपुर ७ गणेसपुर पार्कमा बुधवार छुवाछुत विभेद अन्त्यका लागी सहभोज कार्यक्रम गरिएको छ । सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजना तथा तुलसीपुर उपहानगरपालिकाको सहयोगमा सहभोज कार्यक्रम सम्पन्न भएको हो ।
दलित र गैरदलितका बिचमा भएको सहभोज कार्यक्रममा बोल्दै वडा अध्यक्ष टोप बहादुर केसीले समाजमा हुने विभेदले विकासमा असर पारेको बताएका छन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष केसीले सवै खाले विभेदलाई अन्त्य गरे मात्रै समाज र राष्ट्रको समृद्धि र उन्नती हुने बताएका छन । विभेदले विवाद र समस्या निम्त्याउने बताउदै उहाले समाज रुपान्तरण गर्न जरुरी रहेको बताएका छन ।
संस्थाका अध्यक्ष भिम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्माले दलित र गैरदलित बिचको सहभोज कार्यक्रमले जातिय छुवाछुत अन्त्य गर्न मद्दत पुग्ने बताएका छन । विगतका हुने सहभोज कार्यक्रम भन्दा यो फरक र भिन्न भएको बताउदै उहाले यस्ता कार्यक्रममा विभेद अन्त्य गर्नका लागी राम्रो सन्देश दिने बताएका छन ।
सो अवसरमा बोल्ने अन्य बक्ताहरुले महिला हिंसा तथा जातिय विभेद अन्त्य गर्नका लागी हरेक व्यक्तिहरु सचेत हुनु पर्नेमा जोड दिएका छन् । साथै उनीहरुले राज्यले बनेका निति नियमहरुलाई प्रभावकारी कार्यन्वयन गरी दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
सो अवसरमा वडा सदस्यहरु राम बहादुर जिसी, सारदा सुनार, संस्थाका सल्लाहकार बाबुराम विक, समाजसेवी ईश्वरी सुनार, सहभागीको तर्फबाट सरिता पोख्रेल र मनकुमारी विकले बोलेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सदस्य किरण विश्वकर्माले गरेका थिए । साथै सहभोज कार्यक्रममा घैटा फोड र रस्साकस्सी (दोरी तान्ने) प्रतियोगिता आयोजना गरिएको थियो । घैटाफोड प्रतियोगितामा प्रभात बुढामगर प्रथम भएका थिए । उनलाई पुस्कार प्रदान गरिएको हो ।
प्रतिकृया