बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाले आसन्न शुभ दीपावली–२०८३ लाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न आग्रह गरेको छ।
नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार सूचना जारी गर्दै प्लास्टिकका फूल, प्लास्टिकका माला तथा सोही प्रकृतिका सजावटका सामग्री बिक्री–वितरण नगर्न नगराउन अनुरोध गरेको हो।
नगरपालिकाले स्थानीय स्तरमा उत्पादित प्राकृतिक फूल तथा मालाको बिक्री–वितरणलाई प्राथमिकता दिन सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरण संरक्षण तथा प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो आग्रह गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सूचनाको बेवास्ता गरी प्लास्टिकजन्य वा गुणस्तरहीन फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरण गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने र प्रचलित कानुनबमोजिम कारबाहीसमेत गरिने चेतावनी दिएको छ।



