अछाम — १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउन अछाम जिल्लामा खेलाडी छनोट प्रक्रिया सम्पन्न भएको छ। जिल्लाको चौरपाटी गाउँपालिकास्थित चौरपाटी खेलमैदानमा छनोट प्रक्रिया सञ्चालन गरिएको हो।
प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन अछाम जिल्लाबाट ३०० भन्दा बढी खेलाडीले आवेदन दिएका थिए। सुदूरपश्चिम प्रदेशले उपलब्ध गराएको कोटाका आधारमा विभिन्न खेल विधामा खेलाडीहरूको प्रतिभा, क्षमता, दक्षता र प्रदर्शनको मूल्याङ्कन गर्दै निष्पक्ष रूपमा खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोकुल बहादुर शाहले जानकारी दिनुभयो।
अछाम जिल्लाबाट छनोट भएका खेलाडीहरूले विभिन्न १६ भन्दा बढी खेल विधामा सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरी छनोट हुने खेलाडीहरूले मात्रै १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।
यस छनोट प्रक्रियालाई व्यवस्थित र सफल बनाउन चौरपाटी गाउँपालिकाले महत्वपूर्ण सहयोग गरेको छ। गाउँपालिकाले छनोटमा सहभागी ३०० भन्दा बढी खेलाडीका लागि आवश्यक खेलकुद सामग्री उपलब्ध गराउनुका साथै खेलाडीहरूको बसोबास, खाना तथा अन्य आवश्यक व्यवस्थापनसमेत गरेको थियो।
खेलाडीहरूको सहज सहभागिताका लागि गाउँपालिकाले देखाएको सहयोग र सक्रियताप्रति जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शाहले चौरपाटी गाउँपालिका तथा गाउँपालिका अध्यक्षप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ।
स्थानीय तहको सहयोग, खेलकुदप्रतिको लगाव र खेलाडीहरूको उत्साहले अछाममा खेलकुद गतिविधि थप सक्रिय बन्दै गएको देखिन्छ। प्रदेशस्तरीय छनोटमा अछामका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित गर्ने अपेक्षा गरिएको छ। यसले जिल्लाको खेलकुद क्षेत्रको पहिचान स्थापित गर्न र नयाँ खेल प्रतिभालाई राष्ट्रियस्तरमा पुर्याउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।


