अडियो सार्वजनिक भएपछि खगेन्द्र सुनारले भने : ‘ममाथिका सबै आरोप झुटा हुन्’


पैरवी खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूविरुद्ध सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गरेका छन् । महिलासँगको भनिएको अडियो सार्वजनिक भएपछि र पार्टीले उनीमाथि उठेका प्रश्नबारे आन्तरिक छानबिन सुरु गरेपछि सुनारले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएदेखि नै आफू निरन्तर प्रहार र विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको बताएका छन् ।

‘हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटा हुन् । एआई लगायत प्रविधिको प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्,’ उनले भनेका छन् ।

उनले आफूविरुद्ध उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई आग्रह गरेका छन् । आफूले गर्ने छानबिनमा सबैलाई सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै आधारमा एक नागरिकमाथि निर्मम अत्याचार गरिएको दाबी गरेका छन् ।

‘ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु । ममाथि हुने छानबिनका लागि म सबैलाई सघाउन तयार छु,’ उनले भनेका छन् ।

सुनारले आफूविरुद्ध फैलाइएका भनिएका भ्रममा नपर्न पनि आम नागरिकलाई अपिल गरेका छन् ।

यसैबीच, रास्वपाले सुनारमाथि उठेका प्रश्नबारे स्पष्ट पार्दै ‘कानुनभन्दा माथि कोही नहुने’ बताएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारमाथि लागेका आरोपबारे केन्द्रीय अनुशासन आयोगलाई आन्तरिक छानबिन गर्न निर्देशन दिइएको उल्लेख छ ।

छानबिन निष्कर्षमा नपुगेसम्म सुनारलाई पार्टीका कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन रोक लगाइएको पनि विज्ञप्तिमा जनाइएको छ ।

महिलाको मर्यादा, पदीय आचरण र वित्तीय पारदर्शिताका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पार्दै रास्वपाले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने जनाएको छ । साथै, राज्यका अनुसन्धान निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।