अछाम । महिला जनप्रतिनिधिहरूको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले अछामको साँफेबगरमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ।
महिला जनप्रतिनिधिहरूका लागि नेतृत्व क्षमता विकाससम्बन्धी कार्यशाला गोष्ठी यही असोज १ गतेदेखि २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
बुढीगंगा नगरपालिका, बाजुरा र मेल्लेख गाउँपालिका, अछामको समन्वयमा सुरु कार्यशालाको आर्थिक सहयोग जर्मन कोअपरेसन र करुणा संस्थाले गरेका छन्। रीड नेपालद्वारा सञ्चालित गरिमा–।। परियोजनाको आयोजनामा कार्यक्रम हुन लागेको हो।
कार्यशालामा बुढीगङ्गा नगरपालिका बाजुराका महिला जनप्रतिनिधि, मेल्लेख गाउँपालिकाका महिला जनप्रतिनिधि, र मेल्लेखका वडा स्तरीय महिला संजालका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कार्यशालाको मुख्य उद्देश्य महिला जनप्रतिनिधिहरूको नेतृत्व क्षमता विकास, स्थानीय तहमा प्रभावकारी भूमिका निर्वाह तथा नेतृत्वसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्नु रहेको छ।
ग्रीनतारा नेपालका कार्यकारी निर्देशक रामचन्द्र सिलवालको अध्यक्षतामा भएको कार्यशालामा तालिम प्रबन्धक तथा प्रशिक्षकको रुपमा रिड नेपालका केशवदेव गिरी सहभागी हुनुहुन्छ ।


