अछाम । अछामको मंगलसेन नगरपालिका–३ तिखाडास्थित शिवनिवास आधारभूत विद्यालय पछिल्लो समय नमुना विद्यालयका रूपमा अघि बढ्न थालेको छ। विद्यालयले हरेक वर्ष नयाँ योजना थप्दै लैजानुका साथै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारमा समेत उल्लेख्य सुधार गर्दै गएपछि विद्यालय नमुनाका रूपमा स्थापित हुँदै गएको हो।
विद्यालयमा पछिल्लो समय गुणस्तरीय भौतिक संरचना निर्माणसँगै शैक्षिक वातावरण सुधारका विभिन्न काम अघि बढाइएका छन्। विद्यालयले आफ्नै पहलमा संग्रहालयसमेत स्थापना गरेको छ। संग्रहालयमा अछाम जिल्लाका पुराना तथा ऐतिहासिक वस्तुहरू संरक्षण गरी प्रदर्शनमा राखिएको छ। यसले विद्यार्थीलाई स्थानीय इतिहास, संस्कृति र मौलिकताबारे जानकारी लिन सहज बनाएको विद्यालयले जनाएको छ।
विद्यालयको समग्र वातावरणलाई आकर्षक र रमणीय बनाउने कामसमेत अघि बढाइएको छ। विद्यालय भवनदेखि शौचालयसम्मका संरचनालाई नमुना बनाउने प्रयास गरिएको छ। मंगलसेन नगरपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोगमा चारकोठे आधुनिक डिजाइनको नमुना शौचालय निर्माण गरिएको छ भने पर्याप्त खानेपानीको व्यवस्था पनि गरिएको छ। यसका साथै विद्यालयमा रहेको पुरानो शौचालयसमेत मर्मत गरिएको छ।
नमुना शौचालय निर्माण र खानेपानीको पर्याप्त व्यवस्था भएपछि शिक्षक तथा विद्यार्थीलाई सहज भएको छ। यसअघि खानेपानीको अभावका कारण पढाइ नै छाडेर पानी लिन तथा खान जानुपर्ने बाध्यता रहेको विद्यार्थीहरूको भनाइ छ। अहिले उक्त समस्या समाधान भएको उनीहरूले बताएका छन्।
खानेपानी र सरसफाइको सुविधा विस्तारसँगै विद्यार्थीमा व्यक्तिगत सरसफाइको बानीसमेत बढेको विद्यालयले जनाएको छ। विद्यालय परिसरलाई थप आकर्षक बनाउन बगैंचा निर्माणको कामसमेत अघि बढाइएको प्रधानाध्यापक नरबहादुर रावलले जानकारी दिनुभयो।
प्रधानाध्यापक रावलका अनुसार विद्यालयमा लामो समयदेखि खानेपानी र शौचालयको समस्या थियो। नगरपालिका र हेल्भेटास नेपालको सहयोगमा आवश्यक संरचना निर्माण भएपछि विद्यालयको वातावरणमा उल्लेख्य सुधार आएको उहाँले बताउनुभयो।
विद्यालयलाई प्रविधिमैत्री बनाउन आईसीटीको समेत सञ्चालन भइरहेको छ। आवश्यक थप उपकरणको व्यवस्थापनका लागि आफूहरू निरन्तर पहल गरिरहेको प्रधानाध्यापक रावलले बताउनुभयो। आफ्नो नेतृत्वमा विद्यालय परिवारको निरन्तर मेहनत र टिमवर्कका कारण पछिल्लो उपलब्धि हासिल भएको भन्दै उहाँले आगामी दिनमा विद्यालयलाई अझ व्यवस्थित र नमुना बनाउने योजना रहेको बताउनुभयो । शैक्षिक गुणस्तरका लागि टोल शिक्षा कार्यक्रम संचालन गरिएको, समुदायमै गएर आमा समुह गठन, शिक्षक, विद्यार्थी र अभिभावक संग निरन्तर अन्तरक्रिया भईरहेको प्रधानाध्यापक रावलको भनाइ छ । उहाँका अनुसार विद्यालयमा विषयगत शिक्षक र पर्याप्त कक्षाको अभाव रहेको समेत बताउनुभयो ।
विद्यालयमा निर्माण गरिएका विभिन्न योजनाको बुधबार मंगलसेन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहराले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले सीमित स्रोतसाधनका बाबजुद शिवनिवास आधारभूत विद्यालयले उदाहरणीय काम गरिरहेको भन्दै प्रशंसा गर्नुभयो।
उहाँले विद्यालयका प्रधानाध्यापक तथा प्रशासन, स्थानीय सरकार, विभिन्न विकास साझेदार तथा गैरसरकारी संस्था, प्रशासन, स्थानीय राजनीतिक दल र अभिभावकबीचको समन्वय र सहकार्य प्रशंसनीय रहेको बताउनुभयो।
सबै पक्षबीचको सहकार्य र समन्वयकै कारण विद्यालयले आफ्ना आवश्यकता क्रमशः पूरा गर्दै अघि बढिरहेको उल्लेख गर्दै नगर प्रमुख बोहराले आगामी दिनमा विद्यालयलाई अझ व्यवस्थित र उत्कृष्ट बनाउँदै लैजान सुझाव दिनुभयो।
कार्यक्रममा सहभागी अन्य अतिथिहरूले पनि विद्यालयमा निर्माण गरिएका संरचना तथा विद्यालयको समग्र वातावरणबाट आफूहरू प्रभावित भएको बताएका थिए। विद्यालय प्रशासन अग्रसर भएर काम गर्ने हो भने सीमित स्रोतसाधनका बीच पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण शिवनिवास विद्यालयले प्रस्तुत गरेको उनीहरूको भनाइ थियो।
शैक्षिक गुणस्तर सुधारसँगै भौतिक पूर्वाधार, सरसफाइ, खानेपानी, प्रविधि, स्थानीय इतिहास तथा संस्कृतिको संरक्षण र विद्यालय परिसरको सौन्दर्यीकरणमा समेत ध्यान दिँदै अघि बढेको शिवनिवास आधारभूत विद्यालय अहिले अछाममा ‘विद्यालय सुधारका लागि इच्छाशक्ति र समन्वय भए धेरै गर्न सकिन्छ’ भन्ने उदाहरण बन्दै गएको छ


