काठमाडौं । रसुवामा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार सहयोग गरेको छ। समाजले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।
बाढीपहिरोका कारण प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले समाजको तर्फबाट रु. १,०१,००० (एक लाख एक हजार रुपैयाँ) प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समाजका महासचिव दिनेश खड्का ‘खप्तडी’ ले जानकारी दिनुभयो।
प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरूको पीडा र कठिनाइमा साथ दिने उद्देश्यले मानवीय सेवाभावका साथ सहयोग गरिएको समाजले जनाएको छ।
समाजले विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत, उद्धार तथा सहयोगका कार्यमा आफ्नो तर्फबाट योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा समेत सक्रिय रहँदै आएको छ।


