अछाम- साँफेबगर नगरपालिकाले कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण गरेको छ। दुग्ध उत्पादनमा वृद्धि, उन्नत जातको भैंसीको नश्ल सुधार तथा कृषकको आम्दानी अभिवृद्धि गर्ने उद्धेश्यका साथ कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण गरेको हो।
नगरपालिकाको पशु विकास शाखा मार्फत सञ्चालित कार्यक्रम अन्तर्गत प्रति राँगा एक लाख २० हजार रुपियाँका दरले कुल तीन लाख ६० हजार रुपियाँ बराबरका तीन वटा मुर्राराँगा वितरण गरिएको हो। ती राँगा वडा नम्बर १ वैजनाथ, वडा नम्बर ३ सिद्धेश्वर र वडा नम्बर १२ खप्तडका कृषक समूहलाई हस्तान्तरण गरिएको छ।
नगरपालिकाको पशु विकास शाखाका प्रमुख पदम बहादुर थापाले स्थानीय भैंसीको उत्पादन क्षमता सिमित भएकाले उन्नत जातका मुर्रा राँगासँग प्राकृतिक प्रजनन गराउँदा जन्मिने पाडापाडी उच्च उत्पादन क्षमतायुक्त हुने बताउनु भयो। यसबाट दूध उत्पादनमा वृद्धि हुनुका साथै स्थानीय भैंसीको नश्ल सुधारमा समेत महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाई रहेको छ। उहाँले वितरण गरिएका राँगाको उचित संरक्षण, नियमित स्वास्थ्य परीक्षण,सन्तुलित आहार तथा व्यवस्थित पालनपोषणमा विशेष ध्यान दिन कृषक समूहलाई आग्रह गर्नु भयो।
कार्यक्रममा सहभागि कृषक जनक बहिकले नगरपालिकाको यस पहलले गाउँमै गुणस्तरीय नश्ल सुधारको अवसर सिर्जना भएको बताउनु भयो। उन्नत जातका राँगाको प्रयोगबाट भविष्यमा दूध उत्पादन बढ्ने, भैंसी पालन व्यवसाय थप व्यावसायिक बन्ने र कृषकको आर्थिक अवस्थासुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नु भयो।
नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले कृषि तथा पशु पालनलाई नगरपालिकाको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै
कृषकलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्य अनुसार यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो। उहाँले मुर्रा राँगा वितरणले स्थानीय स्तरमै गुणस्तरीय नश्ल विकास, दुग्ध उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा कृषकको आयआर्जनमा सकारात्मक पभिाव पार्ने विश्वास व्यक्त गर्नु भयो।
साँफेबगर नगरपालिकाले आगामी दिनमा पनि उन्नत पशु श्रोतको विस्तार, उत्पादन लागत न्यूनीकरण, पशु स्वास्थ्य सेवाको सुदृढीकरण तथा व्यावसायिक पशु पालन प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै कृषकलाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य लिईएको जनाएको छ।


