अछाम – महिनावारीसँग सम्बन्धित विभेद, कुसंस्कार तथा छाउपडी प्रथा न्यूनीकरण गर्ने उद्देश्यले ग्रिनतारा नेपालले सञ्चालन गरिरहेको गरिमा परियोजनाको परिचयात्मक कार्यक्रम मंगलसैनमा सम्पन्न भएको छ। मेल्लेख गाउँपालिकामा पाँच वर्षसम्म सञ्चालन हुने परियोजनाले मर्यादित महिनावारीसम्बन्धी जनचेतना अभिवृद्धिमा काम गर्ने जनाएको छ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले महिनावारीसम्बन्धी सामाजिक विभेद अन्त्यका लागि समुदायका अगुवा, धार्मिक व्यक्तित्व तथा परम्परागत विश्वाससँग जोडिएका व्यक्तिहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले यस्ता कुप्रथा हटाउन सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जिल्लामा छाउगोठमुक्त अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिँदै छाउपडीसम्बन्धी गलत मान्यता हटाउन समुदायस्तरमा व्यापक सचेतना आवश्यक रहेको बताउनुभयो।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले गरिमा परियोजनालाई समय सान्दर्भिक कार्यक्रमको रूपमा व्याख्या गर्दै छाउपडी अन्त्यका लागि निरन्तर जनचेतनामूलक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
गरिमा परियोजनाले मर्यादित महिनावारी न्यूनीकरणका लागि अछाम ,बाजुरा र बझाङमा काम गरिरहेको छ ।
कार्यक्रममा परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत प्रमिता वस्यालले हालसम्मका गतिविधि र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो भने फिल्ड म्यानेजर विक्रम जोशीले परियोजनाको उद्देश्य, कार्यक्षेत्र तथा अपेक्षित उपलब्धिबारे प्रकाश पार्नुभएको थियो।


