अछाम । मेल्लेख गाउँपालिकाको आर्थिक सहयोगमा दलित समुदायको परम्परागत पेशालाई आधुनिक प्रविधिसँग जोड्दै आयआर्जन र स्वरोजगार अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको “दलित समुदायको पेशागत सीप आधुनिकीकरण पञ्चेबाजा कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता दलित उत्पीडित सेवा समाजका अध्यक्ष अमर विकले गर्नुभएको थियो। कार्यक्रममा मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउद प्रमुख अतिथि रहनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत धौलराम सार्की विशिष्ट अतिथि रहनुभएको थियो।
त्यसैगरी प्रशासकीय अधिकृत संगीता ताम्राकार अतिथिका रूपमा उपस्थित रहनुभएको कार्यक्रममा दलित समुदायको पेशागत सीप संरक्षण, प्रवर्द्धन तथा आधुनिकीकरणका विषयमा छलफल गरिएको थियो।
वक्ताहरूले पञ्चेबाजा जस्ता परम्परागत पेशा र संस्कृतिको संरक्षण गर्दै यसलाई आधुनिक बजारसँग जोड्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य दलित उत्पीडित सेवा समाजका सचिव मनोज कुमार सार्कीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मालिका प्राविधिक शिक्षालयका सञ्चालक डम्मर साउदले गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूले दलित समुदायको परम्परागत पेशालाई समयानुकूल प्रविधि, सीप र अवसरसँग जोड्न सके आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
उक्त कार्यक्रम मेल्लेख गाउँपालिकाको कार्यालय, अछामको आयोजनामा सम्पन्न भएको हो भने मालिका प्राविधिक शिक्षालय प्रा.लि., गोदावरी–२, कैलालीले प्राविधिक सहयोग गरेको थियो।


