विश्व वातावरण दिवसको अवसरमा साँफेबगर बजारमा सरसफाइ


पैरवी खबर

साँफेबगर। विश्व वातावरण दिवसको अवसरमा साँफेबगरमा वृहत बजार सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा समुदायमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा साँफेबगर नगरपालिकाको समन्वयमा वाक नेपाल, समविकास नेपाल, पीसविन नेपाल , एयरपोर्ट बजार व्यवस्थापन समिति, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सहकार्यमा सञ्चालन गरिएको सरसफाइ कार्यक्रममा बजार क्षेत्रका सडक, सार्वजनिक स्थल, नाली तथा अन्य फोहोरयुक्त स्थानहरूको सफाइ गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले वातावरणीय प्रदूषण न्यूनीकरण गर्न नियमित सरसफाइ आवश्यक रहेको भन्दै प्लास्टिकजन्य फोहोरको प्रयोग घटाउन र वातावरणमैत्री व्यवहार अपनाउन आग्रह गरेका थिए। सरसफाइ अभियानले बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउन सहयोग पुगेको सहभागीहरूको भनाइ थियो।
विश्व वातावरण दिवस प्रत्येक वर्ष जुन ५ तारिखका दिन विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइने गरिन्छ। यस अवसरमा साँफेबगरमा आयोजित सरसफाइ कार्यक्रमले वातावरण संरक्षणप्रति स्थानीय समुदायको प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजकहरूले बताएका छन्।
स्थानीयवासी, सुरक्षाकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले स्वच्छ वातावरण निर्माणमा सबै पक्षको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरेको छ।