छुवाछूतमुक्त समाज निर्माणमा सबैको सहकार्य आवश्यक : चौरपाटीमा सशक्तीकरण कार्यक्रम


पैरवी खबर

अछाम, जेठ २१ – जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा चौरपाटी गाउँपालिकामा दलित समुदायको अधिकार, समानता र सामाजिक न्यायका विषयमा केन्द्रित सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ।

दलित नेटवर्क चौरपाटी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमका अध्यक्ष नवराज विक रहनुभएको थियो भने चौरपाटी गाउँपालिकाका कार्यवाहक अध्यक्ष वीरबहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, भूमि आयोग अछामका जिल्ला अध्यक्ष रामबहादुर आउजी, वडा नं. ४ का पूर्व अध्यक्ष हर्क लुहार तथा दलित समुदायका अगुवा व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा भए पनि समाजमा अझै विभेद र छुवाछूतका घटनाहरू देखिने गरेको उल्लेख गर्दै यसको अन्त्यका लागि राज्य, स्थानीय तह तथा समुदाय सबैको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए। उनीहरूले कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि गर्न सके मात्र समानतामूलक र न्यायपूर्ण समाज निर्माण सम्भव हुने धारणा राखेका थिए।
कार्यक्रममा साँफेबगर नगरपालिका–४ का वडा सचिव धुर्व विकले सहजीकरण तथा प्रशिक्षण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन दलित नेटवर्क चौरपाटीका सचिव रमेश सुनारले गर्नुभएको थियो।
सहभागीहरूले जातीय विभेद र छुवाछूतविरुद्ध एकजुट भएर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै सामाजिक सद्भाव, समान अवसर र समावेशी विकासलाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताएका थिए। कार्यक्रमले विभेदमुक्त समाज निर्माणको साझा संकल्प व्यक्त गर्दै सम्पन्न भएको थियो।