साँफेबगर । साँफेबगर नगरपालिकामा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु भएको छ। साँफेबगर नगरपालिका को महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना, World Vision International Nepal को सहयोग तथा आस्था नेपाल को समन्वय र सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।
साँफेबगरमा आयोजित उक्त कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख अनिता जोशीको अध्यक्षता रहेको थियो भने नगर उपप्रमुख शिव बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर उपप्रमुख कुँवरले बालबालिकाको चौतर्फी विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा स्थानीय तहमा उनीहरूको अर्थपूर्ण सहभागिताका लागि बाल सञ्जालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले बालबालिका भोलिका मात्र होइन, आजका पनि साझेदार भएको उल्लेख गर्दै उनीहरूको हक अधिकार संरक्षण, संरक्षणमुखी विकास तथा आवाजलाई स्थानीय तहको नीति तथा योजना निर्माण प्रक्रियासम्म पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
उहाँले नगर क्षेत्रमा रहेका बाल विवाह, विद्यालय ड्रप–आउट तथा बाल श्रमजस्ता समस्यालाई न्यूनीकरण गर्न बाल भेला तथा नवगठित बाल सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। साथै बालबालिकाका लागि विनियोजित बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै उनीहरूको समग्र विकासका लागि आगामी दिनमा थप प्रभावकारी कार्यक्रम ल्याइने बताउनुभयो।
कार्यक्रममा सहजकर्ताहरूले प्रोजेक्टर तथा डिजिटल माध्यममार्फत “बाल भेलाको महत्व” विषयमा प्रस्तुतीकरण दिँदै बालबालिकालाई आफ्ना चासो, समस्या र अधिकारका विषयमा खुलेर छलफल गर्ने अवसर सिर्जना हुने जानकारी दिएका थिए। सहभागी बालबालिकाले छलफलमार्फत आफ्ना प्राथमिकता पहिचान गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने विषयमा पनि प्रकाश पारिएको थियो।
कर्यक्रमको सहजीकरण आस्था नेपालका भ्वान सिंह सार्की र धुर्ब स्वारले गर्नु भएको थियो।
नगर क्षेत्रमा बालबालिकाको नेतृत्व विकास, सहभागिता अभिवृद्धि तथा हक अधिकार सुनिश्चित गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको आयोजकले जनाएको छ।


