अछाम । साँफेबगर नगरपालिका वडा नं.९ बुढाकोटमा बालबालिकाको अधिकार, सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै बाल सञ्जाल गठन गरिएको छ। साँफेबगर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा वडा नं. १० को समन्वयमा आयोजित कार्यक्रममा १५ सदस्यीय बाल सञ्जाल गठन गरिएको हो।
गठित सञ्जालको अध्यक्षमा लवकुश भण्डारी चयन भएका छन्।

नवगठित सञ्जालले बाल अधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालबालिकाको आवाजलाई स्थानीय तहसम्म पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर उप प्रमुख शिव कुँवर प्रमुख अतिथि रहनुभएको थियो ।
उहाँले भन्नुभयो : “बालबालिका समाजका आधारस्तम्भ हुन् । उनीहरूको अधिकार, क्षमता र नेतृत्व विकासमा लगानी गर्नु भनेको समृद्ध भविष्य निर्माण गर्नु हो । आज गठन भएको बाल सञ्जालले बालबालिकाको आवाजलाई स्थानीय तहसम्म पुर्याउनेछ भन्ने विश्वास लिएको छु । बालमैत्री समाज निर्माणका लागि नगरपालिका सधैं प्रतिबद्ध छ । बालबालिकालाई सिर्जनशील, जिम्मेवार र आत्मविश्वासी नागरिकका रूपमा अघि बढ्न आग्रह गर्दछु ।
वडा अध्यक्ष ललित बोगटीले “बालबालिका हाम्रो समाजको भविष्य हुन्। उनीहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई नेतृत्व विकासका अवसर दिनु स्थानीय सरकारको दायित्व हो। बाल सञ्जाल गठनले बालबालिकाको आवाजलाई सशक्त बनाउनेछ र वडा स्तरमै बालमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रमको सहजीकरण बाल अधिकारकर्मी तथा आस्था नेपालका कर्मचारी भ्वान सिंह सार्कीले गर्नुभएको थियो भने साँफेबगर नगरपालिका उद्यम विकास शाखाकी सहजकर्ता सुनिता कुमारी कुँवरले कार्यक्रमको संचालन गर्नुभएको थियो ।


