साँफेबगर — साँफेबगर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा कार्यालयहरुलाई आवश्यक पहल गर्न निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालय साँफेबगरले वडा नं. १ देखि १४ सम्मका वडा कार्यालयहरुलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी विवरण नगरपालिकामा पेश गर्न आग्रह गरेको हो।
पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय अछामबाट प्राप्त निर्देशनअनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापन कार्यलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।
नगरपालिकाले अतिक्रमण भएका जग्गाको पहिचान गरी त्यस्ता स्थानबाट अतिक्रमण हटाउने योजना तयार गर्न समेत वडा कार्यालयहरुलाई निर्देशन दिएको जनाएको छ। साथै आवश्यक सुरक्षा प्रबन्ध मिलाई कार्य अगाडि बढाउन आग्रह गरिएको छ।
नगरपालिकाले सम्बन्धित वडा कार्यालयहरुलाई ७ दिनभित्र त्यस्ता जग्गाको विवरण नगरपालिकाको कार्यालयमा पेश गर्न अनुरोध गरेको छ।



