अछाम — “स्वस्थ समुदाय, समृद्ध समाज” भन्ने मूल नाराका साथ स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न भएको छ।
बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना स्थित ऐश्वर्य माविका विद्यार्थीहरुबीच स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा “स्वास्थ्यका लागि व्यवहार परिवर्तन र हाम्रो भूमिका” विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्वस्थ जीवनशैली अपनाउन आवश्यक उपायहरूबारे विचार आदान–प्रदान गरेका थिए। कार्यक्रममा बान्निगढी जयगढ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रावलले सन्तुलित आहार सेवन, नियमित व्यायाम, सफा पानी पिउने बानी तथा धुम्रपान र मद्यपान नगर्ने जस्ता व्यवहार परिवर्तनका विषयमा प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा सहभागी हुँदै वडा अध्यक्ष जगत थापाले स्वास्थ्यसम्बन्धी सचेतना बढाउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।
उक्त कार्यक्रम प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, धनगढी, कैलालीको सहयोग र बर्ददेवी मिडिया प्रा.लि. अछामको आयोजनामा सम्पन्न भएको हो ।


