मधेशी दलितलाई अलग्गै ६.७ प्रतिशत आरक्षणको व्यवस्था गर्न माग


पैरवी खबर

काठमाडौँ। मधेशी दलितलाई अलग्गै ६.७ प्रतिशत आरक्षणको व्यवस्था गर्न माग गर्दै चमार कल्याण समाजले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण गराएको छ।

सोमबार रास्वपाका सचेतक प्रकाशचन्द्र परियारलाई भेटेर समाजका अध्यक्ष दिनेश चमारसहितको टोलीले मधेशी दलितलाई अलग्गै आरक्षणको व्यवस्था गर्न माग गरेको हो। उनीहरूले संवैधानिक निकाय, राजदूत नियुक्ति तथा राज्यका सबै संरचनामा दलितभित्रका पनि महादलित समुदायको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्।

‘समावेशी प्रतिनिधित्वको मर्मविपरीत, राणा शासनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि चमार, मुसहर र डोम समुदाय राज्यसत्ता तथा नीतिनिर्माण तहबाट निरन्तर बञ्चित रहनु संरचनागत विभेदको निरन्तरता हो,’ समाजले भनेको छ।

हालको संसद् तथा सरकारमा मधेशी दलित समुदायको उपस्थिति नहुँदा व्यापक आलोचना भइरहेको भन्दै अब राज्यका महत्त्वपूर्ण निकायहरूमा मधेशी दलित विशेषत: चमार, मुसहर र डोम समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न उनीहरूले माग गरेका हुन्।
(समता प्रेसबाट )