साँफेबगर
विश्व औलो दिवस र स्वास्थ्य सम्बन्धि पत्रकारसँग तथा अन्य सरोकारवालासंग अन्तरक्रिया गरिएको छ। शनिबार विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय अछामको आयोजनामा साँफेबगरमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। औलो अन्त्य हाम्रो संकल्प: सक्षम छौं, छैन अब विकल्प भन्ने मुल नाराका साथ अन्तरक्रिया गरिएको हो। सन् २००७ मा बसेको विश्व स्वास्थ्य सम्मेलको ६० औं सभाले सन् २००८ देखि २५ अप्रिललाई विश्व औलो दिवस मनाउने निर्णय गरे अनुरुप नेपालले पनि हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी विश्व औले दिवस मनाउने गरेको छ। विश्व औलो दिवसको यस वर्षको नाराले विश्वव्यापी रुपमा औलो निवारणको लक्ष्य हासिल गर्न, औलोको रोकथाम र नियन्त्रणका प्रयासहरूमा नयाँ प्रतिवद्वा, नवीन समाधानका उपायहरु र थप लगानीको आवश्यकता रहेको सन्देश दिएको छ। साथै सबै सरोकारवालाहरुलाई औलोसँग लड्न नयाँ तरिकाले सोच्न र पुनर्जागृत हुन प्रेरित गरेको छ। साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा औलो सम्बन्धि स्वास्थ्य कार्यालयका प्रमुख झपटराज ढुंगाना र क्षय कुष्ठ निरीक्षक दिपेन्द्र जोशीले जानकारी तथा सहजीकरण गर्नु भएको थियो। विश्व औलो दिवस र स्वास्थ्य सम्बन्धि पत्रकारसँग तथा अन्य सरोकारवालासंग अन्तरक्रिया कार्यक्रममा साफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर, विभिन्न वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रमको संचालन साँफेबगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लक्ष्मण नाथयोगीले गर्नु भएको थियो।


