अछाम । प्रतिनिधिसभा सदस्य सांसद टीका संग्रौला (ज्वाला ) ले विकास निर्माणमा पछाडि परेको अछाम अब चाँडै परिवर्तनको मार्गमा अघि बढ्ने बताउनु भएको छ । वर्तमान सरकार अछाम जस्ता विकट जिल्लाहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले पनि यस्ता जिल्लाहरुको अवस्थामा सुधार हुनेमा विश्वाश व्यक्त गर्नुभयो । यस भन्दा अघि जिल्ला बाट निर्वाचित भएर जाने सांसदहरुले नागरिकको अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै उहाले आफुहरु नागरिकहरुले अनुभुति गर्ने गरि काम गरिरहेको दाबी गर्नुभएको छ ।
आफु अछाम जिल्लाका नागरिकहरुले भोगी रहेका समस्याका बारेमा प्रत्यक दिन यहाका नागरिकहरु संग समन्वय गर्दै अघि बढीरहेको जानकारी गराउदै सांसद संग्रौलाले आफुलाई जिल्लाको विकास निर्माणका सवालमा जतिबेलापनि सम्पर्क गर्न सकिने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी अछामले मंगलसेनमा आयोजना गरेको स्वागत तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्नुभएको छ । उहाले भन्नुभयो “हामी आफैं सुशासनको पक्षमा उभिएका छौं, त्यसैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजका वास्तविक मुद्दा उठाउनुपर्छ” भन्दै व्यक्तिगत विषयभन्दा समाजका आवश्यकताका विषयमा मात्रै सम्पर्क गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।
अब प्रत्यका वडा तथा टोल टोलमा पुगेर पार्टीको संगठन निर्माणमा जुट्न समेत कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । हाम्रा कुरा माननीयसँग, माननीयका अनुभव जनतासँग” भन्ने मूल नारासहित रास्वपा अछाम मंगलसेन नगर कमिटिले स्वागत तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । पार्टीको अगुवाइमा शनिबार मंगलसेन बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने बताईको छ । सिद्ध केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मिलन नाथले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका जिल्ला तथा पालिका स्तरका नेताहरुको सहभागिता रहेको पार्टीका जिल्ला कार्य समिति सदस्य सेतीराम भण्डारीले जानकारी दिनुभएको छ ।


