साँफेबगरमा रहेको महिला सुरक्षित आवास गृहको अनुगमन


पैरवी खबर

अछाम । साँफेबगर अछाममा रहेको समविकास नेपालद्वारा संचालित महिला सुरक्षीत आवास गृहको अनुगमन गरिएको छ ।
जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले भन्नुभयो : समविकास नेपालले सञ्चालन गरेको यो महिला सुरक्षित आवास गृह स्थानीय तहका लागि महत्वपूर्ण सामाजिक पहल हो। पीडित महिलाको संरक्षण, पुनःस्थापना र सशक्तीकरणमा यसले ठूलो भूमिका खेलेको छ। नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर सहयोग र आवश्यक सहकार्य गरिनेछ।
महिला सुरक्षित आवास गृहले पीडित महिलाको संरक्षण र सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ। यसलाई अझ प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय र निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।

यस्तै महिला सुरक्षित आवास गृहले हिंसापीडित तथा जोखिममा परेका महिलालाई सुरक्षित आश्रय प्रदान गर्नु अत्यन्त सराहनीय कार्य हो। यहाँको व्यवस्थापन, सेवा प्रवाह र समर्पण देख्दा सन्तोष लागेको छ। आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउन प्रशासनको तर्फबाट आवश्यक समन्वय र सहयोग गरिने कुरा व्यक्त गर्दै “महिला सुरक्षित आवास गृहको सेवा अझ प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढाउन र स्रोत–साधन सुदृढ गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले बताए ।

समविकास नेपालका संस्थापक अध्यक्ष पशुपति कुँवर र बर्तमान अध्यक्ष दुधकला बिष्टले भन्नुभयो : “समविकास नेपालद्वारा सञ्चालन गरिएको महिला सुरक्षित आवास गृह स्थापना गर्नुको मुख्य उद्देश्य हिंसापीडित तथा जोखिममा रहेका महिलालाई सुरक्षित आश्रय, संरक्षण र पुनःस्थापनाको अवसर उपलब्ध गराउनु हो , उहाँहरुले हाल स्रोत–साधनको अभाव, दीर्घकालीन व्यवस्थापन, जनशक्ति र समन्वयका केही चुनौतीहरू रहेको बताए । यद्यपि, सबै सरोकारवाला निकायको सहयोग र सहकार्यबाट यी चुनौतीहरू पार गर्दै सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता रहेको बताउँदै यस महिला सुरक्षित आवास गृहको स्थानीय सरकारले संरक्षकको भुमिका खेलिदिन आग्रह गर्नुभएको छ ।

अनुगमन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनाल , अनुसन्धान प्रमुख अशोक पौडेल , सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर रावल , ईलाका प्रहरी कार्यालय साँफेबगर प्रमुख दान सिंह भण्डारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

संस्थाले महिला सुरक्षित आवास गृह बारे अनुगमनमा उपस्थित सरोकारवालाहरु बाट लिखित तथा मौखिक रुपमा सुझाव सल्लाह संकलन गरेको थियो ।