काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेख व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
मन्त्रालयअन्तर्गत प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाबाट जारी पत्र अनुसार सबै मन्त्रालय, विभाग, कार्यालय तथा स्थानीय तहहरूलाई विद्युतीय हाजिरी प्रणाली कार्यान्वयन गर्न अनुरोध गरिएको हो।
पत्रमा उल्लेख भएअनुसार, जहाँ विद्युतीय हाजिरी प्रणाली कार्यान्वयन नभएको अवस्था छ, त्यहाँ कर्मचारीहरूको दैनिक उपस्थितिको विवरण (आएको तथा गएको समय) अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ।
साथै प्रत्येक १५ दिनमा हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित राख्न समेत निर्देशन दिइएको छ।
मन्त्रालयले यो निर्णय २०८३/०९/०५ गते सचिवस्तरबाट भएको भन्दै सम्बन्धित सबै निकायलाई कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ।



