काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलबभत्ता अब अर्धमासिक (महिनामा दुई पटक) भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
अर्थ मन्त्रालय अन्तर्गत बजेट तथा कार्यक्रम महाशाखाबाट महालेखा नियन्त्रक कार्यालय, अनामनगरलाई पठाइएको पत्रमार्फत हालसम्म मासिक रूपमा हुँदै आएको तलबभत्ता भुक्तानी प्रणालीलाई परिवर्तन गरी अर्धमासिक रूपमा भुक्तानी गर्ने तयारी गर्न भनिएको हो।
पत्रमा उल्लेख भएअनुसार राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ता वितरण कार्य हाल मासिक रूपमा हुँदै आएकामा अब त्यसलाई अर्धमासिक रूपमा भुक्तानी गर्ने प्रणाली सुरु गर्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ। उक्त निर्णय मिति २०८३ वैशाख ५ गते (माननीय अर्थ मन्त्रीस्तरको निर्णय) अनुसार गरिएको जनाइएको छ।



