काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
बनस्थलीस्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। जिल्ला तथा निर्वाचन क्षेत्र अनुसारको विस्तृत सूची सोमबार बस्ने केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने तयारी गरिएको छ।
बैठकले प्रवास विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा लाई दिएको छ। यसअघि उक्त जिम्मेवारीमा उपसभापति डिपी अर्याल रहनुभएको थियो। उहाँ सभामुखमा निर्वाचित भएसँगै सो पद रिक्त भएको थियो।
सचिवालय बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न एजेन्डा पनि तय गरेको छ। प्रवक्ता झाका अनुसार बैठकको सुरुवातमा पार्टी गतिविधिबारे संक्षिप्त प्रस्तुति रहनेछ भने केन्द्रीय सदस्यहरूले आफ्नो रिपोर्ट प्रस्तुत गर्नेछन्। प्रत्येक सदस्यलाई दुई मिनेट समय दिइनेछ।
त्यसैगरी, बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ। साथै, आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया, आवेदन आह्वान र प्रवासमा रहेका नेपालीलाई मतदान अधिकार दिने विषयमा पनि विचार विमर्श हुने जनाइएको छ।


