साँफेबगर:
साँफेबगर नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा आस्था नेपाल र WVI-N नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा वडा नम्बर ४ मस्टामाण्डौमा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ।
वडा अध्यक्ष नवराज बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिकाको हक, हित र सहभागिता सुनिश्चित गर्ने उद्देश्यले बाल सञ्जाल गठन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बुढाले बालबालिकाको समग्र विकासमा स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । “बालबालिका हाम्रो समाजको भविष्य हुन्। उनीहरूको हक अधिकार सुनिश्चित गर्न वडा कार्यालय प्रतिबद्ध छ। अबदेखि बालबालिकाका लागि आवश्यक बजेट विनियोजन गर्नेछौँ, उनीहरूको क्षमता विकास र संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेछौँ। साथै साझेदार संघ–संस्थासँग समन्वय गर्दै बालमैत्री वातावरण निर्माणमा सक्रिय रूपमा काम गर्नेछौँ।”
कार्यक्रमको सञ्चालन साँफेबगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख अनिता जोशीले गर्नुभएको थियो भने सहजीकरण आस्था नेपालका फिल्ड कर्मचारी भ्वान सिंह सार्कीले गर्नुभएको थियो।
एकदिने बाल सञ्जाल गठन, पुनर्गठन तथा अभिमुखीकरण कार्यक्रममार्फत ममता बोहोराको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ।
कार्यक्रमले बालबालिकाको सहभागिता वृद्धि गर्दै उनीहरूको अधिकार संरक्षण र नेतृत्व विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।


