बैजनाथमा न्याय र लैङ्गिक हिंसा विरुद्ध एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न


पैरवी खबर

साँफेबगर । साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथमा न्यायीक समितिको काम, कर्तव्य र अधिकार तथा लैङ्गिक हिंसा निवारण सम्बन्धी १ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
साँफेबगर नगरपालिका न्यायीक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. १ बैजनाथका अगुवा, सरोकारवाला महिला, दलित संजालका पदाधिकारी,युवा , जनप्रतिनिधि लगायतको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रम न्यायीक समिति संयोजक शिव बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो ।
सचेतनामुलक कार्यक्रममा न्यायीक समितिको काम, कर्तव्य र अधिकारबारे साँफेबगर नगरपालिका कानुन शाखाका नृप विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो । उहाँले“न्यायीक समिति स्थानीय स्तरमै छिटो, सहज र सुलभ न्याय दिने प्रभावकारी माध्यम हो । यसको अधिकार र प्रक्रियाबारे नागरिक सचेत हुन आवश्यक रहेको कुरा पनि अवगत गराउनु भयो ।

त्यसैगरी, लैङ्गिक हिंसा निवारण सम्बन्धी विषयमा साँफेबगर नगरपालिका लैङ्गिक हिंसा निवारण कोषका सदस्य अप्सरा कुँवरले सहजीकरण गर्नुभएको थियो । उहाँले “लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरबाटै आवाज उठाउनुपर्छ । हिंसा सहेर बस्नु समाधान होइन, उजुरी र सचेतना नै परिवर्तनको पहिलो कदम हो।” भन्दै सहभागीलाई प्रशिक्षण गराउनु भएको हो ।

कार्यक्रमलाई समापन गर्दै नगर उप-प्रमुख एवं न्यायीक समिति संयोजक शिव बहादुर कुँवरले स्थानीय तहमा हुने साना–ठूला विवाद समाधानमा न्यायीक समितिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लैङ्गिक हिंसा अन्त्यका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न र लैङ्गिक हिंसा मुक्त समाज निर्माण गर्न हामी सबैको सहकार्य आवश्यक छ । स्थानीय तहबाटै सचेतना फैलाउँदै लैजान सके मात्र दिगो परिवर्तन सम्भव हुन्छ।”
कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन ।