साँफेबगर – साँफेबगर नगरपालिकामा बाल अधिकार समितिको नियमित बैठक सम्पन्न भएको छ। बैठकमा बालबालिकाका हक अधिकारका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो।
साफेबगर नगरपालिकाको समन्वय, वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा आस्था नेपालको सहजीकरणमा उक्त बैठक सम्पन्न भएको हो। कार्यक्रममा बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा बालबालिकाको समग्र विकासका विषयमा विशेष जोड दिइएको थियो।
बैठकमा बोल्दै नगर उपप्रमुख एवं बाल अधिकार समितिका अध्यक्ष शिव बहादुर कुँवरले संस्थाको साझेदारीमा विपन्न तथा अति विपन्न बालबालिकालाई आर्थिक सहयोग तथा शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो। उहाँले बालबालिकाको शिक्षा र संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो।
कार्यक्रममा आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषणमा सहज पहुँच सुनिश्चित गर्न आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले बाल अधिकार सम्बन्धी नीति तथा नियमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवाला निकायको सक्रियता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
वैठकमा जनप्रतिनिधि, साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर थापा, विषयगत शाखाका प्रमुख, आस्था नेपालका सचिव कृष्ण प्रसाद देवकोटा, बाल संरक्षण अधिकृत भ्वानसिंह सार्की लगायतको सहभागिता रहेको थियो ।
बैठकले आगामी दिनमा बाल अधिकारको संरक्षण र प्रवर्द्धनका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।


