१० औं स्वास्थ्य बीमा दिवस अछाममा पनि मनाईयो


पैरवी खबर

टेकबहादुर थापा
अछाम – १० औ स्वास्थ्य बीमा दिवसको अवसरमा अछाम जिल्लामा सरोकारवाला संग अन्तरक्रिया गरिएको छ । स्वास्थ्य बीमा बोर्ड अछामको आयोजनामा जिल्लाका बिमित लगायत यस संग सरोकार राख्ने व्यक्तिहरुका विचमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागि स्थानीय सरोकारवालाहरुले स्वास्थ्य बीमा कार्यक्रम थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिएका छन । यो कार्यक्रमले सबै नागरिकहरुलाई फाईदा पुगेको भन्दै उनीहरुले आर्थिक अवस्था कमजोर भएका नागरिकहरुका लागि ठूलो सहारा भएकाले जिल्लाका सबै नागरिकहरुलाई यो स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउनुपर्नेमा जोड दिएका छन ।
स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्त्वपूर्ण माध्यम भएकाले जिल्लामा अहिले पनि धेरै नागरिकहरु स्वास्थ्य बीमामा आवद्ध नभएको पाईएकाले सरोकारवालाहरुले थप गम्भिर हुन सुझाव समेत दिएका छन । स्वास्थ्य बीमा बोर्ड अछामले यस क्षेत्रमा राम्रो काम गरेकाले अन्य सरोकारवालाले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
जिल्लाको कुल २ लाख २८ हजार ८ सय ५२ जनसंख्या मध्य हाल सम्म ६५ हजार ३ सय ६ जना मात्रै विमित भएका स्वास्थ्य बीमा बोर्ड अछामका प्रमुख मनकला न्यौपानेले सोही अवसरमा जानकारी गराउनुभएको थियो । स्वास्थ्य बीमा गर्नेमा सबै भन्दा धेरै साफेबगर नगरपालिका रहेको छ भने दोस्रोमा मंगलसेन नगरपालिका रहेको छ ।साफेबगरमा ४ हजार १ सय ८९ घरधुरीका ११ हजार ८ सय ९ जना विमित भएका छन भने मंगलसेन नगरपालिकामा ३ हजार ६४ घरधुरीका ९ हजार ४ सय ४५ जना बिमित भएका छन ।
सबैभन्दा कम स्वास्थ्य बीमा गराउनेमा चौरपार्टी गाउँपालिका रहेको छ । प्रतिशतका आधारमा हेर्ने हो भने अछाम जिल्लामा कुल जनसंख्याको २८ प्रतिशत नागरिकहरु मात्रै स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका पाईएको छ । स्वास्थ्य बीमा बोर्ड अछामका संयोजक मनकला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका कार्यालय अछामका प्रमुख झपटराज ढुंगाना प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै कार्यालय प्रमुख ढुंगानाले स्वास्थ्य बिमा भनेको निकै राम्रो कार्यक्रम भएकाले यसमा आवद्ध भई निशुल्क स्वास्थ्य सेवा लिन सबैलाई आग्रह गर्नुभएको छ । स्वास्थ्य बीमाले उपचारका नाममा हुने खर्च जोगीने भन्दै उहाले विरामी भए आफ्नो उपचार गर्नुपर्ने र नभए अरुलाई सहयोग पुग्ने बताउनुभयो । अछाम जिल्लामा यो अभियान प्रभावकारी ढंगले अघि बढ्नुपर्ने भएपनी त्यसो हुन नसकेको भन्दै उहाले यसका लागी स्थानीय सरकार संगै अन्य सरोकारवालाले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर बेद कुमार चौधरी, मंगलसेन स्वास्थ्य शाखा प्रमुख भूमीनन्द ढुंगाना, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, अछाम जेसीजका अध्यक्ष झनक अधिकारी लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन दर्ता अधिकारी खकेन्द्र ढुंगानाले गर्नुभएको थियो ।
नेपालमा २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । यस कार्यक्रमबाट ९८ लाखभन्दा बढी नागरिकलाई बीमामा आबद्ध गरी स्वास्थ्य सेवामा पहुँच स्थापना गर्न योगदान पु¥याइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउने मन्त्रालयको दाबी छ ।