साँफेबगर— नगर दलित संजाल साँफेबगर, अछामको बैठक सम्पन्न भएको छ। केही दिनअघि दलित संजालको रकम हिनामिनाबारे सामाजिक सञ्जालमा उठेका विषयमा केन्द्रित रहि र बैठक आयोजना गरिएको हो।
संजालका पदाधिकारी तथा दलित अगुवाहरूको उपस्थितिमा बसेको बैठकमा उक्त विषयमाथि विस्तृत छलफल गरिएको छ।
बैठकमा सार्वजनिक विवरणअनुसार संजालले साँफेबगर नगरपालिकाबाट प्राप्त बजेट अन्तर्गत विभिन्न जनचेतनामूलक तथा रोजगारमूलक कार्यक्रमका लागि ६ लाख ९० हजार रुपैयाँ खर्च गरेको छ। साथै नगरपालिकाका वडा नं. १ देखि १४ सम्म वडा स्तरीय दलित संजाल गठन लगायतका गतिविधिका लागि १ लाख ४० हजार रुपैयाँ खर्च गरिएको छ। यसरी कुल ८ लाख ३० हजार रुपैयाँ भुक्तानी गरिएको हो ।
संजालका अध्यक्ष गणेश तिरुवाले सो बजेट सार्वजनिक गर्दै १ लाख ८५ हजार रुपैयाँको हिसाब नमिलेको स्वीकार गरेका छन्। उक्त रकम वैशाख मसान्तभित्र संस्थाको खातामा जम्मा गर्ने निर्णय बैठकले गरेको छ।
उक्त बजेटबाट २३ जनालाई ३ महिने कम्प्युटर तालिम, नगरका दलित जनप्रतिनिधि तथा वडा र नगरस्तरीय दलित संजालका पदाधिकारीहरूलाई २ दिने क्षमता अभिवृद्धि तालिम, साथै जातीय छुवाछूत उन्मूलन दिवस लगायतका कार्यक्रम सम्पन्न गरिएको बताइएको छ।
साथै केही कार्यक्रम विविध कारणले सम्पन्न हुन नसकेको र बाँकी कार्यक्रमहरूलाई निरन्तरता दिँदै छिट्टै सम्पन्न गर्ने निर्णय समेत गरिएको छ।


