इनिशा हत्यामा अदालतले भन्यो- ‘अति नै यौन हिंश्रक बनेर करणी गरेको तथ्य स्थापित छ


पैरवी खबर

काठमाडौँ। सुर्खेत जिल्ला अदालतले इनिसा विकको बलात्कारपछि हत्या प्रकरणमा शव परीक्षण प्रतिवेदनले अति नै यौन हिंश्रक बनेर करणी गरेको तथ्य स्थापित गरेको उल्लेख गरेको छ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश दिपक ढकालको एकल इजलाशले मंगलबार इनिसाको बलात्कार र हत्याको आरोपमा पक्राउ परेका चार जना नाबालकहरूलाई पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको हो।

उनीहरू सबै नाबालक भएकाले बालसुधार गृहमा पठाउन अदालतले आदेश दिएको हो। ‘मृतकको शव परीक्षण गरी हेर्दा यौन अङ्ग क्षत् विक्षत् छ। अति नै यौन हिंश्रक बनेर करणी गरिएको भन्ने शव परीक्षणले तथ्य स्थापित गर्दछ,’ अदालतले भनेको छ।

अदालतले यौन सम्पर्ककै कारण बालिकाको यौनाङ्गमा गहिरो घाउ भएको र अत्यधिक रक्तश्राव भएर मृत्यु भएको देखिएकाले प्रेमी भनिएका बालकको वयान मेल नखाएको जनाएको छ। उनीहरू चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो ।

घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश भएको अदालतका सूचना अधिकारी उज्वल रावलले बताए ।

गत २३ फागुनमा विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ कि १६ वर्षीय इनिशा घर नजिकैको जंगलमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।

उक्त घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आइतबार चारै जनाविरुद्ध अदालतमा अभियोग दर्ता गराएको थियो ।

पीडित परिवारले भने न्यायका लागि आन्दोलन जारी राखेका छन् । इनिशाको शव २४ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ ।