दलित परिवारमाथि निर्घात कुटपिट: प्रहरीले पीडितको जाहेरी लिन मानेन


पैरवी खबर

रौतहट। फतुवा विजयपुर नगरपालिका-५ सन्तपुरस्थित दलित बस्तीमा एक परिवारमाथि स्थानीय युवाहरूको समूहले सामूहिकरुपमा निर्घात कुटपिट गरेको घटनामा प्रहरीले पीडितको उजुरी लिनै अस्वीकार गरेको खुलेको छ।

शक्तिको आडमा प्रहरीले पीडित दलित परिवारको उजुरी नै नलिनु कानुनी राज्यको उपहास भएको भन्दै चमार कल्याण समाजले आपत्ति जनाएको छ।

समाजका अध्यक्ष डा.दिनेश चमारले चमार टोलमा दुई महिलासहित ६ जना दलितमाथि भएको सामूहिक कुटपिटको घटनामा प्रहरीले पीडितको उजुरी नलिएको र दोषीहरूलाई कारबाही गर्नुको सट्टा उल्टै पीडितलाई हिरासतमा लिएको घटनाको विरोध गरेका छन्।

उनले विज्ञप्तिमार्फत् भनेका छन्, ‘फागुन १९ गते साँझ करिब ६ बजे स्थानीय भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादवसहितको समूह लाठी-भाटा लिएर दलित समुदायका बिर्जा राम चमारको घरमै प्रवेश गरी बिर्जा राम चमार, उनकी श्रीमती गायत्री देवी राम, छोरा राजकुमार रामसहित ६ जना निर्दोष दलितमाथि निर्घात कुटपिट गर्नु मानवता र कानून दुवैको खुला उल्लङ्घन हो।’

कुटपिटमा परी घाइते भएका दलित परिवारका केहीको टाउकोमा टाँका लगाइएको छ भने उनीहरूको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

चमार कल्याण समाजका अध्यक्ष चमारले भनेका छन्, ‘सबैभन्दा लज्जास्पद र गम्भीर पक्ष के देखिएको छ भने दोषीलाई कानूनी कारबाही गर्नुको सट्टा प्रहरी प्रशासनले उल्टै पीडित बिर्जा राम चमार र उनका छोरालाई पक्राउ गरी थुनामा राखेको भन्ने तथ्य सार्वजनिक भएको छ। स्थानीयको दबाबपछि मात्र उनीहरू रिहा हुनु राज्य संयन्त्रभित्र दलितप्रति रहेको विभेदपूर्ण मानसिकताको स्पष्ट प्रमाण हो। अझ दुःखद कुरा, घटना भएको एक सातासम्म पनि पीडित पक्षको जाहेरी दर्ता नगरिनु न्यायको उपहास हो।’

समाजले दलित समुदायमाथि हुने यस्ता जातीय हिंसा, दमन र अन्याय अब सहेर नबस्ने भन्दै घटनाको निष्पक्ष छानविन र दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

समाजले घटनाको सत्यतथ्य छानविन गर्न नेपाल सरकार, मानव अधिकार आयोग र सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गराएको छ।