अछाम क्षेत्र नं. २ का उम्मेदवारहरुसंग विनायकमा खुला बहस गरियो


पैरवी खबर

अछाम – अछाम जिल्ला क्षेत्र न २ का उम्मेदवारसंगको खुला बहस कार्यक्रम सम्पन्न भएको छ । अछाम सरोकार मंचकोे आयोजना र अछाम जेसीजको सह आयोजनामा भएको खुला बहस कार्यक्रम अछामको पंञ्चदेवल विनायक नगरपालिकामा भएको हो । सरोकारमंच अछामका कोषाध्यक्ष शंकर बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि उमेदवारहरु समृद्ध अछाम बनाउने कुरामा एकमत भएका छन ।

कार्यक्रममा आ आफ्नो एजेण्डा सुनाउदै उमेदवारहरुले यस क्षेत्रको गरिबी र पछौटेपनको अन्त्य गर्ने आफ्नो प्रमुख ऐजेण्डा रहेको भन्दै कार्यक्रममा जनता माझ आफ्नो योजना सुनाएका थिए । कार्यक्रममा सहभागि अधिकांश उमेदवारहरुले अहिले जिल्लामा देखिएको बसाईसराई, कृषिमा आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, यस क्षेत्रका गौरवका आयोजना निर्माणको कुरालाई पहिलो प्राथमिकतामा राखेका थिए । खुल बहस कार्यक्रममा आफ्नो एजेण्डा प्रस्तुत गर्दै नेपाली काँग्रेसका उमेदवार पुस्प बहादुर शाहले आफुले संचालन गरेका अधुरा योजनाहरुलाई पूर्णता दिन आफ्नो उमेदवारी रहेको बताउनुभयो । आफ्नो कार्यकाल पूर्ण बिताउन नपाएको बताउदै उमेदवार शाहले ३ वर्षको अवधीमा पनी जिल्लाका थुप्रै विकास निर्माणका योजनाहरुको बारेमा सरकारको ध्यानआकर्षण गर्ने काम गरेको दाबी गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय कमीटी सदस्य तथा क्षेत्र न २ का उमेदवार यज्ञबहादुर बोगटीले आफु सांसद भएको बेला क्षेत्र न २ मा दर्जनौ काम गरेको बताउनुभयो । यस क्षेत्रका गौरवका आयोजना देखी नागरिकले भोगीरहेका समस्याहरुको बारेमा संसदमा आवाज उठाउने काम सबैभन्दा बढी गरेको दाबी गर्दै उमेदवार बोगटीले क्षेत्र न २ लाई समृद्ध बनाउने आफ्नो सपना रहेको बताउनुभयो । अहिले पनि धेरै योजनाको काम अधुरै रहेको हुदा त्यसलाई पूर्णता दिनपनि यसपटक आफ्नो उमेदवारी रहेको नेता बोगटीको भनाई छ ।
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा उमेदवार बलबहादुर कुवँरले कृषिमा व्यापक सुधार गर्न र यहाँका महत्वपूर्ण योजनाको कामलाई तिब्रता दिन आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभयो । आफुले विगत देखी नै उठाउदै आएका योजनालाई यसपाली पनि प्राथामिकता राखेकाले पटक पटक जिताएर पठाएकाहरुलाई भन्दा पनि नयाँलाई अवसर दिन आग्रह गर्नुभएको थियो । अछाम धेरै सम्भावना बोकेको जिल्ला भएकाले यसलाई विकासमा परिणत गर्न आफ्नो उमेदवार रहेको कुवँरको भनाई छ ।
राष्ट्रि«य प्रजातन्त्र पार्टीका उमेदवार मीन बहादुर शाहीले देशमा विदेशी हस्तक्षप बढ्दै गएकोमा चिन्ता व्यक्तगर्दै यही अवस्था देशमा रहने भने विदेशीको थप हस्तक्षप बढेर जाने बताउनुभयो । यो मुलुकमा अहिले अरु दलले रजाइ गरेपनी अब चाडै राष्ट्रि«य प्रजातन्त्र पार्टीको एजेण्डामा मुलुक अघि बढ्ने दाबी गर्नुभएको थियो ।
नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष तथा उमेदवार झंकर बहादुर शाहीले कृषि क्षेत्रमा धेरै ठुलो समस्या रहेकाले किसानलाई आत्मनिर्भर बनाउने आफ्नो प्रमुख एजेण्डा रहेको बताउनुभयो । कृषि क्षेत्रलाई माथि उठाउन सकेको खण्डमा मात्रै देशलाई विकासको गतिमा अघि बढाउन सकिने भएकाले आफु निर्वाचित भएका कृषिलाई आधुनिकीकरण गर्ने निती बनाउने बताउनुभयो ।
खुला बहस कार्यक्रममा आफ्नो एजेण्डा राख्दै नेकपा (माओवादी) का उमेदवार शेर बहादुर विश्वकर्माले संविधान संसोधन गर्नु आफ्नो प्रमुख एजेण्डा रहने बताउनुभयो । यो संविधानले मुलुकलाई सही दिशामा अघि बढाउन नसक्ने भएकाले संविधानका केही बुदाहरु संसोधन गर्नु अपरिहार्य रहेको बताउनुभयो । यही अवस्थाबाट मुलुक अघि बढ्न नसक्ने हुदा देशलाई सही गतीमा अघि बढाउन पनि नेकपा माओवादीलाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।
उज्योलो नेपाल पार्टीका उमेदवार राजेश रावलले सबै जेनजी युवाहरुको प्रतिनिधित्व गर्दै आफ्नो उमेदवारी रहेको बताउनुभयो । चर्का भाषण र चिल्ला गफ दिन आफुलाई नआउने भन्दै उमेदवार रावलले एक पटक अछामी जनताले विश्वाश गरेको खण्डमा काम गरेर देखाईदिने दाबी गर्नुभएको थियो । कार्यक्रमको उदेश्यका बारेमा अछाम सरोकार मंचका सचिव तुलाराम बिसीले जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजिकरण रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले गर्नुभएको थियो ।