बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ९ पुग्यो, ४४ जना घाइते


पैरवी खबर

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने ४५ जना घाइते भएका छन्। बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस दुर्घटनामा परेको हो।
बिहिवार ७:३० मा पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचनाअधिकारी प्रहरी निरीक्षक भानदेव बडूले जानकारी दिए। दुर्घटनामा १८ महिला र २७ पुरुष गरी जम्मा ४५ जनाको उद्धार गरिएको थियो। घाइतेहरूलाई उपचारका लागि कोटीला स्वास्थ्य चौकी पठाइएको थियो, गम्भीर घाइतेलाई थप उपाचारका लागि डडेल्धुरा रिफर गरिएको छ।
दुर्घटनामा परेर घटनास्थलमै तथा उपचारको क्रममा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशब राज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, बझाङ केदारस्यु गाउँपालिका निवासी ६० वर्षीय मोहन देव भट्ट, बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतला र बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी रहेका छन्। डडेल्धुरा लैजाने क्रममा बाटोमै गम्भीर घाइते बिर्खराज जोशीको समेत ज्यान गएको छ।
घाइतेहरूलाई थप उपचारका लागि स्कुल बसमार्फत डडेल्धुरा अस्पताल पठाइएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका गुल्मपति डीएसपी जंगबहादुर कुँवरले जानकारी दिए।
दुर्घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट नेपाल प्रहरीको टोली खटिएको थियो भने पाटनबाट सशस्त्र प्रहरी बलका डीएसपी शंकर धामीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दाहरूले पनि उद्धार कार्यमा सहयोग गरेका थिए।
बेहुली लिएर बझाङ फर्किने क्रममा जन्ती बोकेको बस दुर्घटनामा परेको जनाइएको छ। बस भिरमा खसेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
दुर्घटनामा परेका एक बालक बेपत्ता भएको बताइएको छ। दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।