धामी–झाँक्रीहरुलाई कानुनी सचेतना तथा छलफल कार्यक्रम मेल्लेखमा सम्पन्न


पैरवी खबर

असार ११
मेल्लेख गाउँपालिकाको आयोजनामा धामी–झाँक्रीसँग सम्बन्धित कानुनी सचेतना तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा धामी–झाँक्री परम्परा, बालविवाह, बोक्सी आरोप तथा छाउपडी कुप्रथाका नाममा हुने हिंसा र विभेदका विषयमा कानुनी जानकारी प्रदान गरिएको थियो ।

समाजमा विद्यमान अन्धविश्वास, बालविवाह र बोक्सी आरोपजस्ता कुप्रथाको अन्त्यका लागि कानुनी सचेतना आवश्यक रहेको मेल्लेख गाउपालिका अध्यक्ष ज्वालासिंह साउदले बताउनु भयाे । परम्परागत विश्वास र संस्कृतिको सम्मान गर्दै मानव अधिकार, न्याय र कानुनी शासनको दायराभित्र रहेर सामाजिक रूपान्तरण अघि बढाउनुपर्नेमा उहाकाे जोड छ ।

कार्यक्रममा धामी–झाँक्रीहरू समुदायका विश्वासिला व्यक्तित्व भएकाले सकारात्मक सामाजिक परिवर्तनका साझेदार बन्न सक्नु पर्ने भन्दै गाउँपालिका उपाध्यक्ष एंव न्यायीक समिति संयाेजक नृपबहादुर खड्काले अन्धविश्वासका कारण हुने हिंसा, विभेद र स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने कार्यक्रममा जाेड दिईने बताउनु भयाे ।

उहाले भन्नुभयाे मेल्लेख गाउँपालिकाले यस्ता कानुनी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने, वडा तहसम्म विस्तार गर्ने तथा स्वास्थ्य संस्था र सुरक्षा निकायसँग समन्वय गरी स्थानीय स्तरमा सूचना तथा रिपोर्टिङ प्रणाली सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

मेल्लेख गाउँपालिका न्यायिक समितिको आयोजनामा भएकाे कार्यक्रम उपाध्यक्ष नृप बहादुर खड्काको अध्यक्षता तथा अध्यक्ष ज्वाला सिं साउदको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धौलाराम सार्की, शिक्षा शाखा प्रमुख विरेन्द्र खड्का, २ नम्बर वडा अध्यक्ष कुशलराज बुढा लगाएतले सुझाव मन्तव्य राख्नुभएको थियाे ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य विषयगत शाखा प्रमुख तथा धामीझाक्री र सराेकारवालाहरुकाे सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला तथा सञ्चालन नृप बुढाले गर्नुभएको थियो भने स्वागत मन्तब्य महिला तथा वालबालिका शमखा प्रमुख सावित्रा खड्काले गर्नुभएको थियाे ।