तिर्थ नेपाली
काठमाडौं — अछाम जिल्लाको मंगलसेन नगरपालिका–५, भाटाबाडा घर भई हाल अध्ययन तथा लोकसेवा आयोगको तयारीका सिलसिलामा काठमाडौंको कीर्तिपुर क्षेत्रमा बसोबास गर्दै आएका ३० वर्षीय रेबन्त बिष्ट जेठ २६ गतेदेखि सम्पर्कविहीन भएका छन्।
उनका भाई छत्र विष्टका अनुसार रेबन्त केही समययता मानसिक तनावमा रहेको संकेत देखिन थालेको थियो। विशेषगरी लोकसेवा आयोगको परीक्षा उमेर हद ३२ वर्षसम्म मात्रै दिन पाइने जानकारी पाएपछि उनी थप चिन्तित बन्न पुगेका थिए। पछिल्लो समय उनी एक्लै कोठामा बस्ने, कम बोल्ने तथा सामाजिक गतिविधिबाट टाढा रहने गरेको उनका भाइले बताएका छन्।
गत भदौ २३ गते भएको जेनजी आन्दोलनका घाईते तथा सामाजिक न्यायमा अग्रसर कैलालीका युवराज उपाध्यायका अनुसार बिष्ट जेठ २६ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन्। उनको मोबाइल फोनसमेत बन्द रहेको बताइएको छ।
प्राप्त विवरणअनुसार उनको अन्तिम लोकेसन सितापाइला जंगल (स्वयम्भू क्षेत्र नजिक) आसपास देखिएको थियो। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
परिवारले रेबन्त बिष्टलाई कतै देख्नुभएको वा उनी सम्बन्धी कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९८६९८०१९१४ र ९८६४१००६६९ मा तत्काल जानकारी गराइदिन अनुरोध गरेको छ।


